Logo

भागबण्डा र आलोपालोको कुरा गरेर प्रचण्डले गल्ति गरे : नेता बडाल



काठमाण्डौ ९ पुस। नेकपा एमालेका नेता केशब बडालले एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूहरुमा अठोट भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले पार्टी एकता प्रक्रियाका क्रममा विमति र बहस हुनु सामान्य भएको बताए ।

पार्टी एकताका लागि नै चुनावमा साझा घोषणा लिएर जनतामाझ गएको बताउँदै बडालले सैद्धान्तिक रुपमा कुनै विवाद नभएको जिकिर गरे । पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा निष्कर्षमा नपुगिएको बडालले बताए ।

स्थायीत्वका लाग वाम गठबन्धनले जनतालाई आश्वासन दिएको स्मरण गराउँदै बडालले ५ वर्षका लागि एउटै व्यक्ति प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिए । अडाइ वर्ष फलाना, अडाइ वर्ष फलाना भनेर गयो भने जनताप्रति विश्वासघात हुने तर्क बडालको छ ।

माओवादी अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर दिएको अभिव्यक्तिप्रति बडालले आपत्ति जनाए । आलोपालो प्रधानमन्त्रीको कुरा गरेर प्रचण्डले गल्ती गरेको बडालले बताए । आलोपालो प्रणालीमा जानु भनेको स्थिर सरकारको अवधारणाविपरित हुने उनको तर्क छ ।

सार्वजनिक रुपमा भागबण्डाको कुरा गर्दा एकता प्रक्रियालाई बल नपुग्ने उनको भनाई थियो ।

भागबण्डाकै मात्र कुरा गर्ने हो भने त्यसलाई पार्टी एकता मान्न नसकिने बडालको भनाई छ । “एकता भएपछि पानी मिलेको जस्तो एकता हुँदैन भने त्यो एकताले कुनै काम गर्दैन । एउटै पार्टी भइसकेपछि पनि भागबण्डा गर्ने हो भने त्यो एकता होइन ।” बडालले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot