Logo

एमाले–माओवादी एकता होला कि नहोला ? यस्तो छ अवस्था



९ पुष, काठमाण्डौ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन ।

चुनावपछिको पत्रकार सम्मेलनमा वाम गठबन्धनले नयाँ सरकार गठनका लागि सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो । सोही पत्रकार सम्मेलनमा पत्रकार ऋषि धमलाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गरी प्रश्न गरे, “पार्टी एकतापछि प्रधानमन्त्री पार्टी अध्यक्ष कोको बन्छ ?”

ओलीको जवाफ थियो, हामी अध्यक्ष बन्नका लागि पार्टी एकता गर्न लागेका होइनाँै । अध्यक्ष त अहिले पनि छौँ नि ।
प्रचण्डको जवाफ थियो, हामी दुवै जना प्रधानमन्त्री बनिसकेका व्यक्ति हौँ । त्यसैले प्रधानमन्त्रीका लागि पार्टी एकता होइन ।

दुवै नेताका कुरालाई सामान्य अर्थमा बुझ्ने हो भने एकतापछिको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा ओली र दाहालबाहेकका नेता हुनेछन् । तर एकता गर्ने भनिए पनि पदीय भागबण्डा नमिलेको सन्दर्भमा ओली र प्रचण्डबाट त्यस्तो जवाफ आएको थियो ।

त्यसपछि निरन्तर रुपमा माओवादी र एमालेका नेताहरुले फरक फरक धारणा सार्वजनिक गर्दै आएका छन् ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी एकतामा शंका नगर्न आग्रह गरेका छन् । तर उनी आफैँ आशंका व्यक्त गरिरहेका छन् ।

प्रचण्डले एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बनाउन लागेको आरोप एमालेमाथि लगाएका थिए ।
बिचमा एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुनुपर्छ भनेर केपी ओलीलाई सबै पद दिनुपर्ने आशयको धारणा सार्वजनिक गरेपछि एमालेकै अर्का नेता माधवकुमार नेपालले त्यसको खण्डन गरे । नेपालले पार्टी एकतामा अवरोध आउने गरी कुनै पनि कुरा गर्न नहुने बताएका थिए ।

माओवादी नेता कृष्ण बहादुर महराले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुनुपर्ने भन्दै ओली र प्रचण्डबिचमा दुई पदका लागि भागबण्डा हुनुपर्ने संकेत गरेका छन् ।
महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने बताएका छन् ।

एमालेका नेताहरुले पहिला सरकार गठन गरेर पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् भने माओवादीका नेताहरुले सरकार गठन र पार्टी एकता एकसाथ गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

शनिवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि प्रचण्ड उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको थियो ।
पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गरिरहँदा वैचारिक विषय ठूलो विवादको विषय नबनेको देखिन्छ ।

माक्र्सवादी विचारको समान दर्शनमा रहे पनि क्रान्तिको सिद्धान्त र कार्यनीतिका सन्दर्भमा यी दुई शक्तिबीच विगतमा फरकफरक दृष्टिकोण देखिँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot