Logo

नवराज सिलवाल अनुसन्धानमा मिडिया तानिए, प्रहरीले तीनवटा अनलाईनलाई पत्र काट्यो



९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले नवराज सिलवालको कार्यसम्पादन मुल्यांकनसँग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको छ ।

प्रहरीले ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) सिलवालको कार्यसम्पादन मुल्यांकनसँग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मुलधारन्युज डट कम, सुशासन डट कम, सुभदिन डट कमसँग स्रोत माग्दै पत्र काटेको हो ।
सिलवालको आर्थिक बर्ष २०७२–७३ को सक्कली र नक्कली भनिएको कार्यसम्पादन मुल्यांकनसंग सम्बन्धित कागजात उपलब्ध गराउन र त्यसको स्रोतसमेत खुलाउन अनुरोध गर्दै शुक्रबार पत्र पठाएको थियो ।

सञ्चार सम्बद्ध संस्थाले भने प्रहरीको उक्त कार्यको विरोध गरेको छ । प्रेस चौतारी, नेपालले बिज्ञप्ति जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले भनेको छ, ‘प्रकाशित समाचारको स्रोत दिन आदेश सहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंक समेत हो ।’ उसले प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संबैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको समेत उल्लेख गरेको छ ।

गत बर्ष सहकर्मी डीआइजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्य सम्पादन मुल्यांकनको नम्बर धेरै रहेको भन्दै सर्वोच्च अदालतमा दुद्दा दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि सरकारले सिलवाललाई नभै तत्कालिन डीआइजी प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएको थियो । नवराज सिलवालले न्यायका लागि भन्दै पुनः अर्यालको भन्दा आफ्नो धेरै नम्बर रहेको भन्दै कार्यसम्पादन मुल्यांकनको कपि सर्वोच्चमा समेत बुझाएका थिए ।

उक्त मु्द्दामा हालै मात्र सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा उक्त कार्यसम्पादन मुल्यांकनको कपी सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ । उक्त फैसलाको आधारमा प्रहरी पुन अनुसन्धान सुरु गरिएको बताएको छ ।

प्रहरीले सिलवालले आफ्नो कार्य सम्पादन मुल्यांकनको प्रति ति मिडियाबाट पाएको उल्लेख गरेका कारण पत्र काटेर कहाँबाट प्राप्त गरेको हो भनेर सोधेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्