Logo

नेपाल विद्यार्थी संघमा चर्कियो विवाद, अध्यक्ष महरविरुद्ध असफलताको आरोप, समानान्तर समिति बनाउने तयारी



९ पुस, काठमाण्डौ । आइतबार नेपाल विद्यार्थी संघको केन्द्रिय समितिको आयोजनामा एक कार्यक्रम भयो । कार्यक्रम थियो, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब ।

नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको कार्यक्रम भनिए पनि केन्द्रिय अध्यक्ष नैनसिंह महर आएनन् । कार्यक्रम सुरुहुनुभन्दा अघि नेवि संघकै एक केन्द्रिय सदस्यले भन्दै थिए, नेविसंघ कमजोर भयो भने कांग्रेस कमजोर हुन्छ । तर अहिलेका अध्यक्षले नेविसंघलाई बलियो बनाउन सकेनन् ।

अध्यक्ष महर कांग्रेस सभापति शेरबहादुर देउवाको इसारामा चल्ने गरेको आरोप केन्द्रिय सदस्यले लगाए । उनले भने, नेवि संघका अध्यक्ष नै पार्टीका नेता जस्तै बूढा भए । त्यसैले युवा विद्यार्थी नेताहरुको भावनाअनुसा चल्न सकेनन् ।

दिपक भट्टराई

नेविसंघका अर्का नेता दिपक भट्टराईले बलियो कांग्रेसका लागि सशक्त नेविसंघ भन्ने नाराका साथ समानान्तर समिति बनाउन लागिएको बताए ।
शनिवार काठमाण्डौको वाल्मिकी क्याम्पसमा भएको असन्तुष्ट पक्षको भेलाले समानान्तर समिति बनाउने निर्णय गरिएको भट्टराईले जानकारी दिए ।

अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको ७५ प्रतिशत समय सकिए पनि अधिकांश काम बाँकी रहेकोले पनि नैनसिंह महरको नेतृत्व कमजोर साबित भएको उनको तर्क छ । आगामी स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेवि संघ कमजोर हुने देखिएकाले पनि समानात्तर समिति बनाउनुको विकल्प नभएको उनले बताए ।
नेवि संघको विधिअनुसार पनि चल्न नसकेको उनको आरोप छ ।
“विधानमा आमन्त्रित सदस्य भन्ने छैन तर मनोनित गरिएको छ । मनोनित भएकाहरु पनि चुनाव हारेका छन् । यो पात्र र प्रवृत्तिबाट नेविसंघ अघि बढ्न सक्दैन ।” भट्टराईले भने ।

समानान्तर समिति गठन गर्ने निर्णयका बारेमा पार्टी नेतृत्वलाई समेत ज्ञापन पत्र बुझाइएको भट्टराईले बताए । वैधानिक गतिविधि रोक्नका लागि वैधानिक हुने गरी समानान्तर समिति बनाएर अघि बढ्ने भट्टराईले बताए ।
प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेवि संघ नेतृत्वको आलोचना भएको थियो ।

नेवि संघका उपसभापति सागर परिवारले पनि अहिलेको नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका छन् । अहिलेकै तरिकाले नेतृत्व अगाडि बढ्ने हो भने आफू कार्यसमितिबाट बाहिरिने बताएका छन् ।

मूल नेतृत्वको विकल्पमा बन्न लागेको समानात्नर समितिलाई आफ्नो समर्थन रहने परियारले बताए ।



प्रतिक्रिया दिनुहोस्