Logo

वडाध्यक्ष सुनबहादुर तामाङको भारतका चार स्थानमा यौन धन्धा,तीनजना पीडित महिलाद्धारा तामाङविरुद्ध सिआइबीमा जाहेरी



१० पुस, काठमाण्डौ । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका छन् ।

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष भएको खुलेको कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।

उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।

‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।

आजको नयाँ पत्रिकामा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्