१० पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।
कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितको समुहलाई साथ लिएर पार्टीको नेतृत्व लिने प्रयास गरेका हुन् । विश्वप्रकाश शर्मा, जीवन परियार लगायतका नेताहरुको साथ लिने प्रयासमा सिंह छन् । चुनावमा कांग्रेसको कमजोर नतिजा आएसँगै पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने बताउँदै आएका सिंहले अब संगठन बनाएर नेतृत्वमाथि हस्तक्षप गर्न लागेको बताइएको छ ।
नेता दिपक खड्कालाई पनि सिंहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए । तर खड्का भने महामन्त्री शशांक कोइरालाको पक्षमा देखिएका छन् । कोइरालालाई नै संसदीय दलको नेता र पार्टी सभापति बनाउने पक्षमा खड्का छन् ।
चुनावमा कांग्रेसले पराजय भोगेपछि देउवाको कार्यशैलीबाट प्रकाशमान रुष्ट देखिएका छन् । चुनाव लगत्तै टेलिभिजन कार्यक्रम धमलाको हमलामार्फत देउवालाई सभापति छोड्न दबाब दिएका सिंहले निरन्तर रुपमा नेतृत्वको आलोचना गर्दै आएका छन् ।
ससंदीय दलको नेता बनेर नेतृत्वमा पुग्ने अभियानका लाग सिंहले युवा नेताहरुलाई फकाउँदैछन् ।