Logo

किन बस्न सकेन नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक ?



११ पुस, काठमाण्डौ । आज बस्ने भनिएको नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।

वर्षमान पुनका अनुसार भोली बैठक बस्ने तयारी भएको छ । पत्रकार ऋषि धमलासँग कुरा गर्दै माओवादी नेता पुनले पार्टी एकताका लागि मापदण्ड बनाएर अघि बढ्ने गरी बुधबार बैठक बस्ने तयारी भएको बताएका छन् ।

भोलीको बैठकका लागि तयारीस्वरुप आजै राती एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।

बाम गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित भएको हो । पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगै लैजाने बताएपनि एकता संयोजन समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

समितिको ८ गते बस्ने भनिएको बैठक समेत बस्न सकेन । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित संयोजन समितिमा रहेका अधिकांश नेताको व्यस्तताका कारण बैठक प्रभावित भएको हो ।

यो बीचमा दुवै दलका नेताहरुले एकता प्रक्रिया नै प्रभावित हुने अभिव्यक्ति दिइरहेका छन् ।

पछिल्लो समय राष्ट्रिय राजनीतिक बाधक बनिरहेको राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा पनि एमाले र माओवादी केन्द्रबीच फरक धार देखिएको छ ।

एमालेले बहुमतीय आधारमा अध्यादेश आउनुपर्ने अडान लिइरहँदा माओवादी केन्द्र भने काँग्रेस नेतृत्वको सरकारले ल्याएको एकल संक्रमणीय व्यवस्थामा केही लचक देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot