१२ पुस, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबिच द्धन्द्ध चर्किएको छ । महानरभित्र रहेको रानी पोखरी पुनःनिर्माणको विषयलाई लिएर दुईजनाबिच विवाद बढेको हो ।
रानी पोखरी पुनः निर्माण गर्दा कम्पाउण्डभित्र नै व्यापारिक प्रयोजनका लागि पौडी पोखरी र कफि शपसमेत संचालन हुने गरी काम सुरु भएपछि विवाद बढेको हो । मेयर शाक्यले ऐतिहासिक स्थलमा व्यापारिक संरचना बनाउने अडान लिएका छन् भने उपमेयर खड्कीले त्यस्ता संरचना बनाउन नहुने अडान लिएकी छिन् ।
मंगलबार विहान खड्कीले निर्माणस्थलको स्थलगत अध्ययन गरी तत्कालका लागि काम रोकेर नयाँ योजनाका साथ काम गर्नुपर्ने बताएकी थिइन् । खड्कीसँगै गएका सर्वसाधारणले त काम गरिरहेका कामदारलाई बाहिर निकालेर गेटमा तालाबन्दी नै गरे ।
त्यसको केहीबेरपछि पुगेका मेयर शाक्यले भने ताला फोड्न लगाएर अध्ययन गरे । उनले आफू मेयर हुनुभन्दा अघिकै योजना अनुसार काम भइरहेको बताए । मेयर र उपमेयरको विवाद अहिले चर्चाको विषय बनेको छ ।
यसै सन्दर्भमा पत्रकार ऋषि धमलाले दुवैजनासँग कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको क्रममा उपमेयर खड्कीले आफूहरु झगडा गरेको नभै मेयर र उपमेयरबिचव मिलेर जानुको विकल्प नभएको बताइन् ।
रानी पोखरी पुनः निर्माण गर्दा क्रंक्रिट प्रयोग गरिएको भन्ने सुचना आएपछि आफू स्थलगत अवलोकनमा गएको खड्कीले बताइन् । आफूले विवाद झिक्ने नभै समस्या समाधान गर्नका लागि पहल गर्ने खड्कीको भनाई छ ।
पूर्खाले बनाएको रानीपोखरी भूकम्पले भत्काए पनि अब पुरानै शैलीमा पुनः निर्माण गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताइन् । नयाँ तरिकाले व्यापारिक प्रयोजनका संरचना बनाउन नहुनेमा आफू प्रतिवद्ध भए पनि मेयर शाक्यले आफूसँग कुनै पनि समन्वय नगरेको आरोप खड्कीले लगाइन् ।
पुरातत्वसँग पुनः निर्माणका लागि स्विकृति लिएको भए पनि कंक्रिटको प्रयोग गरेर बनाउनका लागि भने स्विकृत नभएको खड्कीले जानकारी दिइन् ।
पुनः निर्माणको काम भइरहेको बेला तपाईले ताला लगाउन मिल्छ भन्ने धमलाको प्रश्नमा खड्कीले आफूले ताला नलगाएको दाबी गरिन् ।
आफू गएकै बेला पुगेका सर्वसाधारणले ताला लगाएको उनको भनाई थियो । “मैले ताला लगाएको होइन । काम चाँही मैले रोकेको हुँ । कंक्रिटको प्रयोग गरेर काम भइरहेकाले रोकेको हुँ ।” खड्कीले भनिन् ।
“पुरानो रानीपोखरी जस्तो थियो त्यस्तै बनाउनुपर्छ । मेरोतर्फबाट आधुनिक शैलीमा बनाउने कुरा हुनै सक्दैन ।” उनले भनिन् ।
अब विवाद बढाउनेभन्दा समस्या समाधान गरेर काम अघि बढाउने कुरामा मेयर शाक्यले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएकी छिन् । तुरुन्त बैठक बोलाएर यस विषयमा छलफल गर्न खड्कीले माग गरेकी छिन् ।
मेयर शाक्यले आफू र उपमेयर खड्कीबिच द्धन्द्ध नभएको दाबी गरेका छन् । रानी पोखरी पुनः निर्माणको विषयमा केही प्रविधिका कुरा र केही भ्रमका कुराले गर्दा विवाद जस्तो देखिएको उनले बताए ।
आफू रानी पोखरी पुनः निर्माणको निरिक्षणका लागि जाँदा गेटमा तालाबन्दी गरिएको बताउँदै शाक्यले तालाबन्दी चाँही उपमेयर खड्कीले नलगाएको स्पष्ट पारे । “मैले उहाँलाई सोधेँ । होइन भन्नुभयो । अरु साथीहरुले लगाएको हो । उहाँले होइन ।” शाक्यले भने ।
आफू रानीपोखरी पुग्दा खड्की फर्किसकेको जानकारी दिदै शाक्यले विवाद आएपछि आफूले पनि निरक्षण गरेको बताए ।
आफूले मनोमानी रुपमा काम गरेको नभै नीतिगत रुपमा काम अगाडि बढाइएको शाक्यको दाबी छ । पुरातत्व विभागकै डिजाइन अनुसार पुनः निर्माण भइरहेको शाक्यको दाबी छ ।
पुनः निर्माण प्राधिकरण र विभागको सहमति अनुसार कंक्रिट प्रयोग गरेर संरचना बनाइएको शाक्यले बताए । संस्थागत निर्णयअनुसार नै आफू अघि बढेको उनले बताए ।
आफूले एकलौटी गरेको नभै नगरसभाले पारित गरेको योजनाअनुसार काम अघि बढेको दाबी गर्दै विस्तृतमा उपमेयर खड्कीलाई जानकारी नभएको हुन सक्ने बताए ।
कमी कमजोरी सुधार गर्न आफू तयार रहेको बताउँदै शाक्यले प्राधिकरण र विभागसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
महानगर, विभाग र प्राधिकरणको समन्यवमा काम अघि बढाउने शाक्यले बताए ।
उपमेयर खड्कीसँग पनि विवाद नबढाई बसेर छलफल गर्ने प्रतिवद्धता शाक्यले जनाएका छन् । समस्या समाधानका लागि आफूले नेतृत्व गर्ने उनको भनाई छ ।