Logo

आफ्ना मन्त्रीहरु फिर्ता बोलाउनुपर्नेमा अध्यक्षले के हेरिरहनुभएको छ ? माओवादी नेता शर्मा



१४ पुस, काठमाण्डौ । नेकपा माओवादीका नेता दिनानाथ शर्माले अध्यादेश जारी गर्ने विषयमा दलहरु सहमतिकै आधारमा अगाडि बढ्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता शर्माले अध्यादेशमा भएको विवादको बाटो पहिल्याउने उपाय खोजिरहेको बताए ।
संविधानले राष्ट्रियसभा गठन बहुमतिय प्रणालीमा गठन गर्नुपर्ने उल्लेख गरिए पनि अपव्याख्या गरेर कांग्रेसले एकल संक्रमणीय मतको कुरा गरेको आरोप लगाए ।

अध्यादेशका बारेमा कांग्रेसले विवाद झिकेको उनको आरोप छ । संसदमार्फत विधेयक ल्याउनुपर्नेमा कांग्रेसले संसदको अवधि सकिएपछि अध्यादेशमार्फत ल्याएको उनको भनाई छ ।
राष्ट्रपतिले अध्यादेश अलमलमा नराखी कि फिर्ता गर्नुपर्ने कि जारी गर्नुपर्ने उनको भनाई छ ।

नेता शर्माले प्रदेशसभातर्फको समानुपातिक सासंदको नाम आयोगलाई बुझाउने अन्तिम तयारी भएको जानकारी गराए ।
उनले एमाले र माओवादीबिच पार्टी एकता हुने बताए । एकताका लागि कठीन मोडहरु आए पनि त्यसलाई व्यवस्थापन गर्दै पार्टी एकता गरिने उनले बताए ।

सम्मानजनक हिसाबले नेता कार्यकर्ताको व्यवस्था गर्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष जो भए पनि त्यसमा विवाद नहुने बताए ।
पदको कुरालाई लिएर एकता प्रक्रियामा कुनै समस्या नहुने उनको भनाई थियो ।

शर्माले माओवादीका तर्फबाट मन्त्री बनेकाहरुले राजिनामा दिनुपर्ने भए पनि सरकारमा बसिरहेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

“मलाई लाज लागिरहेको छ । झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो । हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?” उनको प्रश्न छ ।
वाम गठबन्धन गरिसकेपछि नै मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्नेमा अध्यक्ष प्रचण्डले नबोलाएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्