Logo

अस्थिरतातर्फ लान खोज्ने शक्तिहरुका प्रयास असफल हुन्छन : ओली



काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक विषय टुंगिएकाले आर्थिक विकासले प्रमुखता पाउने बताएका छन ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘अब अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु र तिनका प्रयाुसहरु असफल हुन्छन्, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक ‘‘नेपाल नवनिर्माण महाअभियान’’ को शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब मुुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने बताएका हुन् ।

उनले भने,‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केह गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने उनको जिकिर थियो ।

त्यतिमात्रै नभएर उनले एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने समेत जिकिर गरे । अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने ओलीको भनाई थियो । वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताए ।

ओलीले अगाडि भने, ‘कमसेकम ६ वटा प्रदेशमा कसैले केही गर्न सक्दैन, स्थानीय तहमा अधिकांश हामीले जितेका छौं । अहिले काम गर्ने वातावरण छ ।’

तस्विर : मुकुन्द काकिलोटे 



प्रतिक्रिया दिनुहोस्