Logo

नेपाली साहित्यको विकासमा पौड्यालको योगदान महत्वपूर्ण : राष्ट्रकवि घिमिरे



काठमाडौँ, १५ पुस : राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा उहाँले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताउनुभयो । “तत्कालीन संस्कृतिका बारेमा आमजनतालाई साहित्यमार्फत चिनाउने व्यक्ति पौड्याल हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले नेपाली कविता क्षेत्रमा कवि शिरोमणी पौड्यालको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।पौड्यालको १९४१ पुुस १५ गते कास्कीको अर्घौं अर्चलेमा जन्म भएर २०२२ सालमा निधन भएको थियो ।

लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई :

सो अवसरमा नेपाली शिक्षा परिषद्ले हरेक वर्ष प्रदान गर्ने लेखनाथ प्रतिभा पुरस्कार लक्ष्मी सुवेदीलाई प्रदान गरिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च अंक ल्याएर स्नातकोत्तरमा प्रथम स्थान हासिल गरेको भन्दै सुवेदीलाई रु १५ हजार एक नगदसहित सम्मान गरिएको हो ।

उहाँले २०७१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसबाट ६८ प्रतिशत ल्याएर प्रथम हुनुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्