Logo

शक्ति बाँडफाँट मिलाएर गर्नुपर्छ, जिद्दी गरेर पार्टी एकता हुँदैन : माओवादी नेता रायमाझी



पुस १६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले छिटोमा १५ दिन र ढिलोमा १ महिनाभित्रमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमझीले राष्ट्रियसभा गठनसम्बन्धी विवाद सल्टिएको बताउँदै अब सरकार गठनका लागि १ महिना पर्याप्त हुने बताए ।

वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने विषयमा आशंका नगर्न रायमाझीले आग्रह गरेका छन् । एमाले र माओावदीबिचको सरकार बन्न नदिनका लागि खेलहरु भइरहे पनि कसैले रोक्न नसक्ने उनले बताए ।

पार्टी एकताको विषय अगाडि बढिरहेको बताउँदै रायमाझीले बाम गठबन्धनको सरकार बनाउने प्रक्रिया पनि अगाडि बढिरहेको बताए ।
पार्टी एकताका क्रममा विभिन्न नेताहरुले दिएको अभिव्यक्तिका कारण कुनै असर नपर्ने उनको भनाई छ । नेतृत्वको विषयलाई लिएर आएका अभिव्यक्ति आधिकारिक नभएको बताउँदै उनले संयोजन समितिको बैठकले सबै कुरा टुङ्गो लगाउने बताए ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषय छलफलकै क्रममा रहेको उनको भनाई छ । अहिलेसम्म बाहिर आएका कुरा फेरबदल हुन सक्ने रायमाझीको भनाई छ ।
सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुवैमा आलोपालो गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाई छ ।

शक्ति बाँडफाँट मिलाएर गरिने भन्दै उनले कसैले जिद्दी गर्दैमा पार्टी एकता नहुने बताए । रायमाझीले गृहकार्य गरेर सहमतिको नजिक पुगेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर सबै कुरा टुङ्गो लगाइने बताए ।



प्रतिक्रिया दिनुहोस्