Logo

नेपाल विद्यार्थी संघ फुटको संघारमा, मेलमिलाप दिवसका दिन छुट्टाछुट्टै कार्यक्रम



१६ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघ भने बिभाजित अवस्थामा पुगेको छ । नेविसंघ अलग–अलग समूहले मेलमिलाप दिवसमा अलगअलग कार्यक्रम गरेका छन् ।

केही दिनयता संघको नेतृत्वप्रति असन्तुष्ट हुँदै एउटा पक्ष्ले समानान्तर समिति नै बनाउने निर्णय गरेको थियो । त्यसपछि नेवि संघिको दुईवटा फरक फरक सहुमले फरक फरक गतिबिधि गरिरहेका छन् ।

कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ ।

वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । तर, मेलमिलाप दिवसकै दिनदेखि कांग्रेस भ्रातृसंगठन नेविसंघमा भने विभाजनको स्पष्ट संकेत देखिएको छ ।
कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच मिल्ती देखिँदैन । यो विभाजनको रेखा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि झन् गहिरो बन्दै गएको छ । पार्टीभित्रको बेमेलको असर स्वतः भ्रातृ संगठन नेविसंघमा परेको छ । बेमेलकै नतिजाका कारण मेलमिलाप दिवसको अवसरमा नेविसंघका नेताहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका हुन् ।

नेविसंघको संस्थापन पक्षले राष्ट्रियसभागृहमा दिउँसो एक बजे कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् ।

दिउँसो १ बजे नै रामचन्द्र पौडेल पक्षको नेविसंघ नेताहरुले त्रिचन्द्र क्याम्पसमा अर्को छुट्टै कार्यक्रम आयोजना गरेका छन् । त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुलाई बोलाइएको छ ।

नेविसंघमा अहिले देखिएको विवादका बिभिन्न कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति मुख्य हो । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्थाअनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एकजना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष -एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउँछन् ।

अहिले नेविसंघ अध्यक्ष महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी छ ।

हालसम्म गरिएका नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लागेको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेविसंघभित्रको विवाद छताछुल्ल भएको छ ।

नेवि संघ अध्यक्ष नैनसिंह महरले संस्थालाई विधिसम्मत रुपमा चलाउन नसक्दा नेवि संघ नै कमजोर भएको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति गठन गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षको नेतृत्व अध्यक्ष नैनसिंह महरले र पौडेल पक्षको नेतृत्व मनोजमणि आचार्यले गर्दै आएका छन् ।

कांग्रेस नेता पौडेल पक्षका नेविसंघका नेताहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महर स्वेच्छाचारी ढंगले बढेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । देउवाले पनि आफूले महर र आचार्य दुबै पक्षलाई राखेर मिलाउने भन्दै १० दिन समय मागेका थिए । त्यो दशदिने अल्टिमेटमको अन्तिम दिन आज हो ।

संयोगले आजै राष्ट्रिय मेलमिलाप दिवस परेको छ । र, यही दिनदेखि नै नेविसंघमा मेलमिलाप होइन विभाजनको संकेत देखापरेको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का हुनुपर्नेमा नेता–कार्यकर्ताहरुमा विभाजनको मानसिकता छ ।



प्रतिक्रिया दिनुहोस्