Logo

कांग्रेसमा चार गुट, देउवालाई विस्थापित गर्ने गगन थापाको योजना



१६ पुस, काठमाण्डौ । चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्र एक पक्षले अहिलेको नेतृत्वले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग अघि सारेका छन् भने अर्को पक्षले कांग्रेसलाई नेतृत्व परिवर्तन नगरी सुधार गर्नुपर्ने बताएका छन् ।

युवा नेताहरुले नेतृत्व हस्तान्तरणको माग उठाएका छन् भने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले त्यसको खण्डन गरेका छन् । चुनावमा हार्नुको कारण खोजेर पार्टीलाई सशक्त बनाउनुपर्ने देउवा पक्षको तर्क छ भने युवा नेताहरुले नेतृत्व नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

पहिलेदेखि नै गुट उपगुटको सिकार भएको कांग्रेसभित्र अहिले फरक फरक धारणा आएका कारण सोही अनुसार गुट बन्न सक्ने देखिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र हालको महामन्त्री डा. शशांक कोइराला एकजुट हुने सम्भावना जति नै छ त्यति नै फरक फरक गुट निर्माण गर्ने सम्भावना पनि छ ।

पौडेल समुहका भनिएका सिंह र कोइरालाई संसदीय दलको नेता बन्ने दौडमा लाग्दा एकले अर्कालाई स्विकार गर्न नसके स्वतः फरक फरक समुहको नेतृत्व गर्नेछन् ।

सभापति देउवालाई विस्थापन गर्नका लागि संसदीय दलको नेता बनाउन नहुनेमा एकमत जस्तै देखिएको पौडल समुहमा सिंह र कोइराला दुवै संसदीय दलको नेतामा दाबी गरिरहेका छन् । नेता पौडेलले चुनाव हारेपछि सिंह र कोइराला अघि सरेका हुन् ।

देउवा पक्षले भने नेतृत्व परिवर्तनको अवाश्यकता नरहेको जिकिर गर्दै देउवालाई नै संसदीय दलको नेता बनाउन लागि परेका छन् ।

अर्कोतिर नेतृत्व परिवर्तनको आवाज उठाइरहेको युवा नेताहरुले भने गगन थापालाई अघि सार्ने सम्भावना देखिएको छ । युवा नेताहरुमध्ये थापाले मात्रै चुनाव जितेकाले पनि संसदीय दलको नेतामा उनैलाई समर्थन गर्नुपर्ने बाध्यतामा युवा नेताहरु छन् । थापा आफैले पनि अहिलेको नेतृत्वलाई विश्राम दिएर युवा वर्गले नेतृत्व लिनुपर्ने आवाज उठाइरहेका छन् ।

महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समुहमा गएका थापालाई उनै सिटौलाले चुनाव हारेपछि संसदीय दलमा दाबी गर्न सहज भएको छ । युवा नेता भनेर चिनिएका विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे लगायतका सबै सासंद बन्न नसकेकाले पनि थापा संसदीय दलको नेतामा युवाका तर्फबाट एक्लो दाबेदार बनेका छन् ।

पछिल्लो सयम युवा नेताहरुले अनौपचारिक छलफललाई तिब्रता दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्