Logo

तीन वर्षपछि प्रधानमन्त्री दिने गरी अहिले सह अध्यक्ष बन्न प्रचण्डलाई फकाउँदै एमाले



पुस १६, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि नेताहरु खटाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल गर्नका लागि एमालेका तर्फबाट विष्णु पौडेल, माधबकुमार नेपाल र बामदेव गौतम सक्रिय छन् ।

त्यसैगरी माओवादीका तर्फबाट कृष्ण बहादुर महरा, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई प्रचण्डले छलफलमा खटाएका छन् ।
दुवै दलका नेताहरुले प्रचण्ड र ओलीलाई उपयुक्त पद दिएर मिलाउने विषयमा छलफल गरिरहेका छन् । तर छलफलले निष्कर्ष निकाल्न सकेको छैन ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीका नेताहरु तयार भए पनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन एमालेका नेताहरु तयार हुन नसक्दा पार्टी एकता प्रक्रिया लम्बिएको बताइएको छ ।

प्रचण्डले भने आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । एमालेले भने ३ वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई अहिले सह अध्यक्ष बन्न आग्रह गरेको छ ।

पार्टी एकतासँगै अन्य पदको बाँडफाँट पनि छलफलको विषय बनेको छ ।  राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसकसलाई बनाउने भन्ने विषयमा पनि कुराकनी भइरहेको छ ।

प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीका नेताहरुको भनाई छ । आइतबार मात्रै पनि माओवादी नेता टोपबहादुर रायमाझीले कसैले जिद्दी गरेमा पार्टी एकता नहुने संकेत गरेका थिए ।

तर एमालेका नेताहरुले भने सबैभन्दा ठूलो दल एमाले भएकाले एकतापछि अध्यक्ष केपी ओली नै हुनुपर्ने अडानमा छन् ।



प्रतिक्रिया दिनुहोस्