Logo

अपराध तथा देवानी संहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरु



काठमाडौँ, १६ पुस (रासस) :  राष्ट्रिय न्यायिक प्रतिष्ठानले अपराध संहिता तथा देवानी संहितासम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण आजदेखि यहाँ भएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च तथा जिल्ला अदालतका न्यायाधीश, सर्वोच्च अदालतका सहसचिव, विभिन्न अदालतका रजिस्ट्रारलाई उपलब्ध गराउन लागिएको सो प्रशिक्षण शुभारम्भ गर्नुभयो ।

सबैको सहयोगमा प्रतिष्ठानले कानूनी क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोे उल्लेख गर्दै उहाँले मुलुकमा आएको युगान्तकारी परिवर्तनलाई यस संहिताले पनि गतिशील बनाउने बताउनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले लामो समयदेखि संहिताका विषयमा छलफलपछि आउन लागेको बताउँदै विधि र प्रक्रियाअनुसार कानूनका सबै क्षेत्रमा प्रशिक्षक प्रशिक्षण दिन नसकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस तालीममा कसैलाई पनि निषेध गरिएको छैन, नियमको पालना गरिएको हो ।”

मुलुकमा गणतन्त्र स्थापना भएपछि सबै संरचनामा परिवर्तन गरिएको चर्चा गर्दै प्रधानन्यायाधीशले पराजुलीले भदौ १ गतेदेखि लागु हुने संहिताका विषयमा जानकारी दिनपर्नेमा जोड दिनुभयोे । उहाँले नयाँ आउने ऐनसँगको तालमेल तथा परिवर्तनको प्रत्याभूति दिलाउनु हाम्रो कर्तव्य भएकाले त्यसतर्फ लागेको बताउनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ११० वर्ष पुरानो ऐनलाई विस्थापित गराएर नयाँ ऐन ल्याउन ठूलो संघर्ष गर्नुपरेको बताउनुभयो । उहाँले मुलुकमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विद्यमान ऐनमा ठूलो परिवर्तन भएको बताउँदै प्रशिक्षक प्रशिक्षणलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले नयाँ संहितासम्बन्धी प्रशिक्षणले न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, पाटन उच्च अदालतका उच्च न्यायाधीश प्रकाशकुमार ढुंगाना, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक केशरीराज पण्डित, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले प्रशिक्षक प्रशिक्षणबाट न्यायका नयाँ व्यवस्थालाई जनताको तहसम्म पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले पहिलो तीन चरणमा १०८ प्रशिक्षक तयार गरी तल्लो तहमा पठाउने तयारी गरेको छ । (श्रव्य सामग्री उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्