Logo

प्रचण्डलाई गठबन्धनबाट अलग्याउन पाएको खण्डमा कांग्रेसको भोलिको रणनीति सफल हुने थियो : महामन्त्री कोइराला



काँस्की, १६ पुस । नेपाली कांग्रेस महामन्त्री शंशाक कोइरालाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनबाट माओवादीलाई अलग्याउनका लागि आफूले पहल गर्ने बताएका छन् ।

मेलमिलाप दिवसमा कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा आइतबार बोल्दै महामन्त्री कोइरालाले यस्तो कुरा बताएका हुन् । उनले भने,‘साथीहरुले मलाई दाहालसँग कुरा गर्न भनेका छन् । सोही अनुसार कुरा गर्ने मनस्थितिमा छु ।’

पार्टीका केही साथीहरुले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग्याउन आग्रह गरेको बताउँदै उनले यस विषयमा प्रचण्डसँग कुरा गर्ने मनस्थितिमा रहेको बताए । ‘माओवादीलाई गठबन्धनबाट अलग्याउन पाएको खण्डमा कांग्रेसको भोलिको रणनीति सफल हुने थियो ।”

त्यस्तै कोइरालाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको हारको हप्ता दस दिनभित्रै केन्द्रीय समितिमा समीक्षा गरिने विश्वास दिलाए । पार्टी पराजित हुनुमा धेरै हदसम्म सभापतिको हात हुने भएपनि जिम्मेवारी सबैको हुने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्