Logo

विश्वमा नयाँ युद्धको खतरा बढेको छ : नेता बिजुक्छे



भक्तपुर, १६ पुस (रासस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ ।

नेपाल प्राध्यापक समाजले आज यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले संयुक्त राष्ट्र संघले कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकोमा विरोध गर्दै तेल ढुवानीमा समेत प्रतिबन्ध लगाउनुले युद्धको खतरा बढेको बताउनुभयो ।

रुसी क्रान्तिका नेता स्तालिन र चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको जन्म दिवस र क्युवाली स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै बिजुक्छेले इजरायलको राजधानी जेरुसलेम बनाउन भिटो प्रयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पका कारण भीडन्त अझ चर्किने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले भन्नुभयो, “भारतले हिन्द महासागरसमेत आफ्नो बनाउने षडयन्त्र गरिरहेको छ, पाकिस्तानमा चीनले बन्दरगाह बनाएको छ । अफगानिस्तान र पाकिस्तानमा चीनले सडक बनाएको छ । यसबाट भारत दक्षिण एशियामा एक्लिँदै गएको पुष्टि हुन्छ ।”

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमाले एक संशोधनवादी पार्टी भएको टिप्पणी गर्दै एमाले नेपाली काँग्रेसकै बाटोमा हिँडेको र प्रतिगामी सरकारमा जाने पार्टी भएकाले क्रान्तिकारी हुन नसक्ने भन्दै आलोचना गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवम् प्रदेशसभा सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको जगमा टिकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गर्नुभयो ।

नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसार्इंको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, सदस्यहरु चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्