Logo

ओली र प्रचण्डबिच समझदारी भइसकेको छ, डिस्क्लोज नगरिएको हो : उपाध्यक्ष ज्ञवाली



१७ पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबिच छलफल भइरहेको बताएका हुन् ।

नेताहरुको व्यवस्थापन र माओावद, जनताको बहुदलीय जनवाद जस्ता महत्वपूर्ण विषयमा ओली र प्रचण्डबिच छलफल भइरहेको उनको भनाई थियो ।
“दुईवटा पार्टी अध्यक्षहरुको बिचमा घनिभूत रुपमा कुनै न कुनै कुरा भएको छ । उहाँहरुले डिस्क्लोज नगरेको हुन सक्छ ।” ज्ञवालीले भने । “ओली र प्रचण्डकोबिचमा कुरा नमिलिकन वा समझदारी नभै हावाको भरमा पार्टी एकता गर्छु भन्नुभएको होइन होला ।”

अध्यक्षद्धय बाहेक पनि संयोजन समिति अनौपचारिक छलफलमा व्यस्त रहेको ज्ञवालीले बताए ।
एमाले स्थायी समिति र माओवादीका पनि विभिन्न कमिटीमा छलफल भएपछि पार्टी एकतावद्ध भएर जाने ज्ञवालीले बताए । “पार्टी एकता कुनै पनि हालतमा हुन्छ । नगरी हुँदैन ।”

चुनावमा जाँदा नै पार्टी एकताको मोडलअनुसार ६०–४० को तालमेल गरेर गएको भन्दै ज्ञवालीले त्यसबेला पनि चुनौति भएको तर सफल भएको उदाहरण दिदै ज्ञवालीले जनताले स्विकार गरेकाले नै अब पार्टी एकता भएरै छाड्ने दाबी गरे ।

“जनताको अभिमतका आधारमा पनि पार्टी एकता गरेरै छाड्नुपर्छ । छिटै गर्नुपर्छ ।” ज्ञवालीले भने । “छापामार युद्ध गरिरहेको माओवादी शान्ति प्रक्रियामा आउने कुरा पनि त्यसबेला असम्भव ठानिएको थियो । अहिले पनि पार्टी एकता असम्भव ठान्नेहरु धेरै छन् । तर हामी सम्भव बनाएरै छाड्छौँ ।”

जनताको बहुदलीय जनवाद वा माओवाद जस्ता सिद्धान्तले पार्टी एकता नरोकिने ज्ञवालील स्पष्ट पारेका छन् ।
एकताका लागि नेतृत्व र सैद्धान्तिक रुपमा समस्या हुन्छ भन्ने जान्दा जान्दै पनि घोषणा गरेर अघि बढिएकाले त्यस्ता समस्या समाधानका उपाय निस्कने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्