Logo

विद्यालय सुधारका कार्य अगाडि बढाइनेछ : उपप्रममन्त्री श्रेष्ठ



भक्तपुर, १७ पुस (रासस) : उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले उच्चस्तरीय शिक्षा आयोगले दिएको सुझावका आधारमा सरकारले विद्यालय सुधारका कार्य अगाडि बढाउने बताउनुभएको छ ।

भक्तपुर दरबार क्षेत्रमा रहेको पद्म माविको ९४औँ र पद्म कलेजको आठौँ वार्षिकोत्सव समारोहमा उहाँले आयोगको सुझावकै आधारमा मन्टेश्वरीदेखि विश्वविद्यालय शिक्षासम्मको शिक्षाको सुधार गरिने बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “म शिक्षामन्त्री भएपछि नेपालको शिक्षाको विकासका लागि धेरै काम गरेको छु, मैले नै उच्चस्तरीय शिक्षा आयोग गठन गरेँ, त्यसबाट शिक्षाको सुधारका लागि सुझाव संकलन गरिरहँे, अब आयोगबाट आएका सुझावलाई लिएर शिक्षामा सुधारको योजना बनाइनेछ, त्यसले पक्कै पनि शिक्षामा सुधार आउँछ भन्ने विश्वास लिएको छु ।”

उहाँले भूकम्पले भत्किएको सोही विद्यालय भवन बनाउन भक्तपुर नगरपालिकाले नक्सा पास नगरिदिँदा समस्या भएको बताउँदै भक्तपुर नगरपालिकालाई तत्काल नक्सा पास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको पुरानो र इतिहास बोकेको यस विद्यालयको भवन बनाउन दातृ निकाय तयार छन् तर भक्तपुर नगरपालिकाले किन नक्सा पास गर्दैन, म भन्न चाहन्छु मेयर उपमेयरलाई, यस विद्यालयको भवन बनाउन छिटो नक्सा पास गरिदिनुहोस् ।”

उहाँले स्थानीय तहमा शिक्षाको अधिकार आएपछि गाउँपालिका र नगरपालिकालाई विद्यालयको स्तरोन्नति गर्न चुनौती थपिएको बताउँदै यसका लागि सरोकारवालाबीच समन्वय आवश्यक रहेकामा जोड दिनुभयो ।

त्यस अवसरमा विद्यालयले यही पुस १४ गतेदेखि आजसम्म आयोजना गरेको भक्तपुर जिल्लाव्यापी भलिबल प्रतियोगितामा प्रथम हुने स्प्रिङ्डेल बोर्डिङ स्कूल, दोस्रो हुने आयोजक पद्म मावि र तेस्रो हुने सैनिक महाविद्यालयका विजयी टोलीलाई शिक्षामन्त्री श्रेष्ठले नगदसहित प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गर्नुभयो । विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र विभिन्न शीर्षकका छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसअवसरमा प्रजिअ द्रोण पोखरेललगायतले सरकारी विद्यालयका रुपमा रहेको सो विद्यालय भक्तपुरमा नमूनाका रुपमा स्थापित भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्तप्रसाद धौभडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य राम हाडाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot