Logo

संघीयता सबैलाई घाँडो हुनेवाला छ : चित्रबहादुर केसी



१८ पुस, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धन तोड्न देशी–विदशी शक्तिले प्रयास गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अध्यक्ष केसीले गठबन्धन तोड्ने प्रयास भए पनि कुनै दरार नआओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

केसीले आफू वाम गठबन्धनमा भने नरहेको स्पष्ट पारेका छन् । “अहिले हाम्रो नीति र निर्णय छैन । कहाँ पार्टी एकतामा जाने ? कार्यगत एकता त ६२–६३ मा मधेशवादीसँग गर्यौ । ३५–३६ मा कांग्रेससँग गर्यौँ ।”

कार्यगत एकता गर्नु र पार्टी एकता हुनु एउटै कुरा नभएको उनको तर्क छ । “ओली र प्रचण्डले भनेको भरमा देशभरका कार्यकर्ताले भनेको अर्थ लाग्दैन ।” उनले भने ।

चुनावका बेला बागलुङ र प्युठानमा तालमेल मात्रै गरेको केसीले बताए । चुनावमा गरिएको तालमेलले फाइदा भए पनि समग्रमा भोट कम आएको उनले बताए ।
सत्ता र ठेकदार सामु आफ्नो दलले केही गर्न नसकेका कारण भोट कम आएको उनको भनाई छ ।

संघीयता असफल हुँदै गएको दाबी गर्दै उनले संघीयता कार्यान्वयनका लागि विदशी संस्थासँग पैसा माग्दै हात थाप्न जानुपर्ने स्थिती आएको केसीले बताए । नेपाली जनताले चाहेको जस्तो नभै विदेशी शक्तिले चाहे जस्तो संघीयता नेपालमा स्थापित हुन लागेको उनको दाबी छ ।

“अब सबैलाई संघीयता घाँडो हुनेवाला छ । ६ सय १ जना सासंद धेरै भए भन्ने नेपाली जनताले अब ८ सय ८४ जना सासंद, ८ ओटा सरकार, स्थानीय निकाय भोग्नु परेको छ । यि सबै चलाउनका लागि खर्च कसले दिने हो ?” केसीले प्रश्न गरे ।

पृथकतावादी र जातियतामा राजनीति गर्नेहरुलाई संघियता फलिफाप भए पनि देश भने भड्खालोमा जाने उनको जिकिर छ ।

नेपालले संघीयता धान्नै नसकिने उनको दाबी छ । “ढिलो चाँडो संघीयता चाहिदैन, देश टुक्रयाउन पाइदैन भनेर नेपाली जनता सडकमा आउन बाध्य हुनेछन् ।”
चुनाव हुँदैमा संघीयता सफल भयो भनेर प्रचार गर्नु झुटको खेति भएको उनको आरोप छ ।

आफ्नो पार्टी सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताए ।
ऋषि धमलाले गरेको सरकारमा जाने हो भन्ने प्रश्नको जवाफ दिदै केसीले भने, “त्यो कुरा पार्टीले निर्णय गर्छ । अहिले विज्ञापन गर्दै हिँड्दैन ।”

अहिलेसम्म सरकार बन्ने वातावरण नै नबनेको भन्दै उनले राष्ट्रिय जनमोर्चा सरकारमा जाने भनेर विज्ञापन गर्दै नहिँड्ने बताए ।



प्रतिक्रिया दिनुहोस्