Logo

निगमले इन्धनको मूल्य फेरी बढायो, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि



१८ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९–७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

नयाँ मूल्य सोमबार मध्यरातिदेखि नै लागू भएको छ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको छ ।

अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।

तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्