Logo

पूर्व राजा ज्ञानेन्द्र आफ्नै सुरमा बजार निस्किएपछि सुरक्षाकमीलाई हैरान



१८ पुस, नेपालगञ्ज । पाँच दिनदेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्ज बजारको अवलोकन गरेका छन् । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा सोमबार बिहान बाहिर निस्केपछि प्रहरीको भने कुदाकुद भएको थियो ।

बा २ च ६४१८ नम्बरको कार चलाएर ज्ञानेन्द्र नेपालगञ्ज बजारतिर निस्केका थिए । पूर्वराजाले नेपालगञ्जको सुर्खेतरोडमा केहीबेर यात्रा गरे । नेपालगञ्ज भन्सारसम्म पुगेर फर्किएका ज्ञानेन्द्र होटलमा नपसी फेरि कोहलपुरतिर लागेका थिए । गनापुरबाट फर्किएर ज्ञानेन्द्र सोल्टी होटल पुगेका थिए ।

पूर्वराजा एक्कासी केही नभनी हिँडेपछि बाँके प्रहरीलाई तनाव भएको छ । सोल्टी होटलबाट नेपालगञ्ज बजारतिर निस्केपछि बागेश्वरी मन्दिर दर्शन हुन सक्ने बुझेर प्रहरीको एउटा टोली मन्दिरमा पुगेको थियो । वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमको टोली धेरैबेरसम्म मन्दिर बसेर फर्कियो ।

पूर्वराजा कोहलपुरतिर गएको भन्ने बित्तिकै अर्का प्रहरी निरीक्षक बसन्त गौतमको टोली कोहलपुरतिर हान्नियो। उसले पनि राजालाई भेट्न सकेन ।

केहीबेरपछि पूर्वराजा सोल्टी होटलमा पुगेको त्यहाँ रहेका असईले जानकारी गराएपछि कोहलपुरतिर लागेको र बागेश्वरी मन्दिरमा रहेको प्रहरी टोली फर्किएको छ। पूर्वराजाको भ्रमणतालिका सुरक्षा निकायलाई नदिँदा बाँके प्रहरी तनावमा छ।

सोल्टी होटलमा बसेका पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्र डिएसपीले कमाण्ड गरेको टोली त्यही बसेको छ ।



प्रतिक्रिया दिनुहोस्