Logo

मलेसिया पुगेका सिलवाललाई समात्न प्रहरी टोली गोदावरीतिर, रित्तो हात फिर्ता



१९ पुस, काठमाडौं । एउटा कार्यक्रममा भाग लिन मलेसियामा रहेका नवराज सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी सिलवाललाई लिन ललितपुरको प्रहरी टोली सिलवाल निवास पुगेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाई पत्र लेखी सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो ।

प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो ।

यसैबीच, मलेसियामा रहेका सिलवालले आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको जानकारी गराएका छन् । सिलवालले आफू मलेसिया रहेको थाहा हुँदा हुँदै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

सिलवालले आफू फरार भएको वा भागेको भन्ने कुरा सत्य नरहेको स्प्ष्ट पारेका छन् । आफू अनुसन्धानलाई सघाउन तयाररहेको समेत उनले बताएका छन् ।

उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका व्इक्त गर्दै आएका छन् ।
यस प्रकरणमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने सिलवालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot