Logo

‘कुरा नमिले आफैं बनाउँछौं’



काठमाडौं २० पुस ।
नेपाली सेनाले तराई–काठमाडौं जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ । सकेसम्म तयार डीपीआर नै खरिद गर्ने तर शुल्क अधिक भए नयाँ प्रक्रियामा अघि बढ्ने सैन्य स्रोतले जनाएको छ । सेनाले फास्ट ट्रयाकको कामसँगै डीपीआरसमेत बनाउने तयारी गरेको हो ।

भारतीय कम्पनीले आफ्नोडीपीआरका लागि अस्वाभाविक रकम माग गरेएको भन्दै सेनाले आन्तरिक तयारी थालेको हो । सेनाको प्राविधिक टोलीले भारतीय कम्पनीको डीपीआर अध्ययन प्रतिवेदन उच्चस्तरीय समन्वय समितिलाई पेस गर्ने क्रममा त्यस्तो सुझावसमेत दिएकोस्रोतले बतायो । दुई दिनअघि दिइएको उक्त प्रतिवेदनले डीपीआरको आवश्यक पाटोमात्र खरिदबारे सुझाव दिएको सैन्य उच्च स्रोतले बतायो ।

दु्रत मार्ग चार वर्षमा सम्पन्न गर्न नयाँ डीपीआर बनाएर अघि बढदा समय लाग्ने भन्दै सेनाले भारतीय कम्पनीले तयार गरेको डीपीआर नै उपयोग गर्ने बताएको थियो । तर भारतीय कम्पनीले निकै धेरै रकमको अपेक्षा गर्दै आएकाले सेनाले अर्को विकल्प पनि सुझाएको अधिकारीहरूले बताए । नेपाली सेनाले बाटो चौडा गर्नेलगायतका कामका लागि विभिन्न नौ स्थानका लागि टेन्डरसमेत गरिसकेको छ । त्यो सकिएपछि डीपीआरअन्तर्गत महत्त्वपूर्ण अन्तर्राष्ट्रियस्तरको टेन्डर हुनेछ । बाटो चौडासँगै डीपीआर तयार गर्ने गरी सेनाले काम अघि बढाएको हो ।

नेपाली सेनाले बाह्य विज्ञ तथा कम्पनीको आवेदन मागेर नै डीपीआर अध्ययन गरेको हो । फिल्डमा खटिएका सेनाका प्राविधिक र सम्बन्धित मन्त्रालयका प्राविधिक पनि उक्त अध्ययनमा सामेल थिए । उक्त टोलीले रथी पूर्णचन्द्र थापाको नेतृत्व रहेको उच्चस्तरीय समन्वय समितिलाई प्रतिवेदन दिएको हो । समितिले त्यसमा अध्ययन गरेर निर्णयमा पुग्नेछ ।

काठमाडौंलाई तराईसँग जोड्ने एक महत्त्वपूर्ण मार्गका रूपमा रहेको फास्ट ट्रयाकलाई सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउँदै यसको सबै कामको जिम्मेवारी नेपाली सेनालाईदिएको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सेनालाई ‘फास्ट ट्रयाक’ निर्माणको जिम्मेवारी गत वैशाख २३ मा दिएको हो । उक्त सडकलाई मन्त्रिपरिषद्ले ‘फास्ट ट्रयाक’ भने पनि सेनाले यसलाई ‘एक्सप्रेस वे’ भनेको छ । तर, यसको सबै तयारी फास्ट ट्रयाक शैलीमा नै भएको पनि सेनाले जनाएको छ । सेनाका सहायक रथी नैनराज दाहालले यसलाई सेनाको प्रतिष्ठाको विषयका रूपमा लिँदै काममा तीव्रता दिइएको बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्