Logo

केपी ओली बिनाको सर्वदलीय बैठक बस्दै, सहमति निस्किनेमा आशंका



काठमाडौं २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । एमालेका नेता भीम रावलले दिएको जानकारी अनुसार सर्वदलीय बैठकमा आफूसहित सुवास नेम्वाङ, अग्नी खरेल र विष्णु पौडेल सहभागि हुनेछन् ।
केही दिनयता अस्वस्थ रहेका ओली भने आजको बैठकमा पनि सहभागि हुन नसक्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् । बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुँदैछन् ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ । निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन् । तर आजको बैठकमा एमाले अध्यक्ष ओली सहभागि नहुने भएपछि सहमति वा निष्कर्ष निस्किनेमा आशंका उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्