Logo

वाम गठबन्धनले सरकारलाई भन्यो : जेजे गर्न बाँकी छ छिटो गर्नुस्, नयाँ सरकारलाई अवरोध नगर्नुस



काठमाण्डौ, २० पुस । आज वालुवाटारमा बसेको सर्वदलीय बैठकमा वाम गठबन्धनका तर्फबाट सहभागि नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया छिटो पूरा गर्न आग्रह गरेका छन् ।

बैठकमा सहभागि एमाले नेता भिम रावलले राष्ट्रियसभाको चुनावको मिति तत्काल घोषणा गर्न आग्रह गरिएको जानकारी दिए । “राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भइसकेको अवस्थामा चुनाव गराउन आलटाल गर्नु जनतको अपमान हो ।” रावलले भने ।

बैठक सकिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै रावलले राष्ट्रियसभाको चुनाव लम्ब्याउनेतिर सरकार नलागोस् भनेर प्रधानमन्त्री देउवालाई सचेत गराएको बताए । बढिमा २५ दिनभित्र चुनाव गराउनपर्छ भन्ने आफूहरुको धारणा रहेको उनले बताए । प्रतिनिधिसभातर्फको चुनावी नतिजा सात दिनभित्र सार्वजनिक गर्नुपर्ने भएपनि सरकारकै दबाबमा निर्वाचन आयोगले आलटाल गरेको आरोपसमेत रावलले लगाए । “यदी हो भने सरकारले बिलम्ब नगरोस् ।” उनले भने ।

अहिले सरकार काम चलाउन भएकाले दीर्घकालिन असर गर्ने कुनै पनि निर्णय नगरोस् भनेर आफूहरुले देउवालाई सचेत गराएको रावलले बताए । “सरुवा, बढुवा, शसस्त्र प्रहरीमा दरबन्दी थप्दैछ भन्ने सुनेका छौँ । यि कामहरु सरकारले नगरोस् ।” रावलले भने ।

सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको भन्ने कुरा आफूहरुलाई जानकारी नभएको बताउँदै रावलले अब बन्ने नयाँ सरकारलाई अवरोध नहुने गरी काम गर्न सुझाब दिएको बताए ।

“हामीलाई जानकारी नभएको विषयमा हामीले केही कुरा गर्ने आधार भएन । अन्तिम घडीमा यस्तो गर्नुस भन्ने स्थिती छैन । तर नयाँ सरकार गठनका लागि जेजे कुराले अड्किएको छ । त्यो सबै फुकाओस् ।” रावलले भने ।

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा सरकारले आफूहरुलाई जानकारी नगराएको रावलको आरोप थियो ।
माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि काम चलाउ सरकारका हैसियतमा राजनीतिक नियुक्ति नगर्न प्रधामन्त्री देउवालाई सुझाब दिएको बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

नेता पौडेलले प्रदेशको राजधानी तोक्ने विषयमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा बनाइएको अध्ययन समितिले दिएको प्रतिवेदन अध्ययन गरेर राजधानी तोक्न आग्रह गरेको बताए ।

प्रदेश प्रमुख तोक्ने काम पनि सरकारकै भएकाले जतिसक्दो चाँडो तोक्न वाम गठबन्धनका नेताहरुले आग्रह गरेको पौडेलको दाबी छ ।
राष्ट्रियसभाको निर्वाचनको मिति पनि चाँडोभन्दा चाँडो तोक्न नेताहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको पौडेलले जानकारी दिए । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति घोषणा गर्ने उनले बताए ।

आजकौ बैठकमा प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा भने ठोस छलफल नभएको पौडेलले बताए ।
“आज छलफल भएन । सबै पार्टीको राय बुझेर गर्ने मनस्थितीमा सरकार थियो । तर केही पनि राय आएन । छलफल नभएपछि सकेसम्म कम विवाद होस् भन्ने तरिकाले सरकारले काम गर्छ ।” पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot