Logo

सर्बदलीय बैठकको परिणाम : सोमबारसम्म प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारको तयारी



२० पुस, काठमाण्डौ । सरकारले सातवटै प्रदेशमा प्रमुख तोक्ने विषयमा छलफल अघि बढाएको छ । आज विहान बसेको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरुले असहमतिका बाबजुत पनि छिटो प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने गृहकार्य गरेका हुन् ।

शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखिएको थियो । एमालेका नेता भीम रावलले जसरी हुन्छ नयाँ सरकार गठनका लागि सहज हुने गरी काम गर्न प्रधानमन्त्री देउवालाई सुझाब दिएको बताएका थिए ।

जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो खुलेको छ । तर एमालेलदेउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दिएको छ ।

आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने प्रस्ताव राखेका थिए ।

तर, एमाले मात्र होइन, माओवादी नेताहरु पनि राजनीतिक सहमतिको पक्षमा देखिएनन् । दुबै दलका नेताहरुले ‘यो सरकारको काम हो, सरकारले गरास्’ भनेका थिए ।

आजको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने मनस्थितीमा पुगेका हुन् ।

कानुनमन्त्री यज्ञबहादुर थापाले ढिलोमा अगामी सोमबारभित्रमा प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् । ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले अस्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा अब बस्ने मन्त्री परिषद बैठकमा छलफल गरेर चाँडै टुङ्गो लगाइने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot