Logo

चिसो अझै बढ्यो, ताप्लेजुङको तापक्रम यस वर्षकै कम



२३ पुस, ताप्लेजुङ । पछिल्ला केही दिनयता देशभर चिसो बढेको छ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम आज यस वर्षकै कम मापन भएको छ ।

पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको आइतबार बिहानको तापक्रम १ दशमलब ४ डिग्री छ ।

यसअघि पुस २२ गते २ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाइ छ । सदरमुकाम फुङ्लिङमा नै १ दशमलब ४ डिग्री सेल्सियस मापन गरिँदा माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको भनाइ छ ।

चिसो बढे पनि हिमपात भने नभएको तर तुसारो झर्ने र पानी जम्ने क्रम भने सुरु भएको कार्यालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्