Logo

देउवा नेतृत्वको सरकारे अस्थायी राजधानी नतोक्ने, प्रदेश सासंदले काठमाण्डौमा सपथ खाने



२३ पुस, काठमाण्डौ । सर्वदलीय बैठकले अस्थायी राजधानी तोक्ने विषयमासहमति जुटाउन नकेपछि अब सबै प्रदेशको प्रदेश सासंदहरुले काठमाण्डौ आएर सपथ खानुपर्ने अवस्था आएको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने तर प्रदेशका अस्थायी राजधानी नतोक्ने भएको छ ।
सिँचाई मन्त्री संजय गौतमले राजनीतिक सहमतिबिना अस्थायी राजधानी तोक्न नसकिने बताएका हुन् ।
ऋषि धमलासँग कुरा गर्दै मन्त्री गौतमले सपथ खुवाउनका लागि जरुरी भएकाले प्रदेश प्रमुख तोक्ने तयारी भए पनि अस्थायी राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने अवस्था आएको बताए ।
“राजनीतिक दलहरुको भूमिका सरकारलाई चित्त बुझेन । अब प्रदश राजधानी तोक्ने काम प्रदेशसभाले गर्छ ।” मन्त्री गौतमले भने । “अझै पनि सहमति निर्माण हुन सक्छ भने छ ठिकै छ । होइन भने अपजसको भागिदार यो सरकार हुन चाहदैन ।”

सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै देशका कम्तिमा ७ जिल्लामा आन्दोलन भइरहेको छ । १ नम्बर प्रदेशको धनकुटा र सुनसरीमा आन्दोलन शुरु भएको छ । सो प्रदेशको अस्थायी केन्द्र बिराटनगर तोकिने चर्चासँगै अन्यत्र आन्दोलन भएको हो ।

त्यस्तै २ नम्बर प्रदेशको मुकाम जनकपुर हुने भनिएपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ । ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर तोकिने चर्चासँगै काभ्रेपलाञ्चोकमा आन्दोलन शुरु भएको छ । हेटौंडा र चितवनले पनि असन्तुष्टि जनाइसकेका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा पनि प्रदेश सांसदहरुको सपथग्रहण र प्रदेशका कामकारवाही सञ्चालन गर्ने ठाउँका बारेमा बीचको बाटो खोज्न परामर्शमा रहेका छन् ।

प्रदेश नम्बर ५ को अस्थायी केन्द्र दाङ हुने भनिएसँगै बुटवल र नेपालगन्जमा आन्दोलन शुरु भइसकेका छन् । कपिलवस्तुमा समेत राजधानी माग्दै आन्दोलन शुरु भएको छ ।

प्रदेश ७ को मुकाम धनगढी हुने चर्चा आएपछि दिपालयमा आन्दोलन चर्किएको छ ।

प्रदेशका अस्थायी राजधानी तोक्ने विषयमा सहमति नभएपछि अब प्रदेश सासंदहरुले काठमाण्डौमै आएर सपथ ग्रहण गर्ने मन्त्री गौतमले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्