Logo

काठमाण्डौको तापक्रम ८ वर्षपछि शुन्य डिग्रीमा, सबैभन्दा चिसो जुम्लामा



२३ पुस, काठमाडौं । काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । पछिल्लो ८ वर्षमा पहिलोपटक आइतबार काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।

तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।

आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो ।

उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण मौसमविदले गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे जुम्लाको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot