Logo

भोली सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्री थापा



“प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार यो सरकारलाई छैन”

२३ पुस, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यता सबै दलले बुझिसकेकाले सरकारले योग्य व्यक्तिलाई प्रमुखमा नियुक्ति गर्ने बताए ।

केही दिनअघिसम्म यो सरकारले प्रदेश प्रमुख तोक्न पाउँदैन, तोक्यो भने सपथ खादैनौँ भनेर खबरदार गरेका वाम गठबन्धनका नेताहरु नै अहिले छिटो प्रदेश प्रमुख तोक्नुपर्यो भनेर दबाब दिइरहेको थापाले उल्लेख गरे । मन्त्री थापाले पछिल्ला दिनमा सरकारले लिएका सबै अडान सही प्रमाणित भएको दाबी समेत गरे ।
क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री थापाले पूर्व प्रशासक, विज्ञ, उच्च पदमा काम गरेर अनुभव लिएका सेवा निवृत्त धेरै व्यक्तिहरुको बारेमा प्रदेश प्रमुख तोक्नका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

प्रदेश प्रमुख तोक्दा अब आउने सरकारले पनि निरन्तरता दिन व्यक्ति छानिने मन्त्री थापाले बताए । वाम गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णय गछौँ ।
अहिलेको सरकारले तोकेको प्रमखहरु अब बन्ने नयाँ सरकारले फेरबदल गर्ने चेतावनी दिइरहेका बेला मन्त्री थापाले सबैलाई पाच्य हुने व्यक्तिलाई नियुक्ति गरिने दाबी गरे ।

प्रदेश प्रमुख सोमबार तोक्ने जानकारी दिएका मन्त्री थापाले प्रदेशको अस्थायी राजधानी भने नतोकिने स्पष्ट पारेका छन् । कुनै पनि सरकार वा निकायलाई अस्थायी राजधानी तोक्ने अधिकार नभएको थापाको जिकिर छ ।

संचारमाध्यम, जनता, ठूला नेता तथा कानुनविदहरुलेसमेत अस्थायी राजधानीको कुरा गरेको देखेर आफू आश्चर्यमा परेको मन्त्री थापाको भनाई थियो ।
“संविधानले कसैलाई पनि अस्थायी राजधानी तोक्ने अधिकार दिएको छैन । यो सरकारलाई पनि त्यो अधिकार छैन । अब आउने सरकारलाई पनि छैन ।” मन्त्री थापाले भने । “संविधानको धारा २८८ को उपधारा ख मा प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी छनौट गर्ने व्यवस्था छ । सोही धाराको उपधारा ग मा प्रदेशसभाले राजधानी नछानेसम्मका कार्यसम्पादनका लागि सरकारले सभा बस्ने ठाउँ निर्धारण गर्न सक्छ । तर कुनै पनि ठाउँलाई अस्थायी राजधानी भनेर तोक्न पाउँदैन ।”

उपधारा ३ मा टेकेर सभा बस्ने ठाउँ तोक्नका लागि सर्बदलीय बैठकमा सहमति खोज्ने प्रयास सरकारले गरे पनि सहमतिका लागि अन्य दलले चासो नदिएको थापाले आरोप लगाए ।

“वाम गठबन्धनका नेताहरुले तँ गर हामी हेरौँला भनेर बसेका छन् । तर हामी व्यवस्थापनका लागि मध्यमार्गी बाटो खोजिरहेका छौँ ।” थापाले भने । “प्रदेशको राजधानीको विषयलाई लिएर जनता आन्दोलनमा छन् । हामी गम्भीर भएर सपथ खाने ठाउँ तोक्छौँ । यो सरकार संविधानभन्दा बाहिर गएर केही काम पनि गर्दैन ।” थापाले भने । “प्रदेश प्रमुख जङ्गल वा अन्तरिक्षमा गएर त बस्दैनन् । हामीलाई हेक्का छ ।”

प्रदेशसभाका सदस्यहरुलाई काठमाण्डौमा नै सपथ खुवाउने विषयमा छलफल भइरहेको उनको भनाई थियो ।
सबै संवैधानिक प्रक्रिया पूरा गरेर अहिलेको सरकार बाहिरिने थापाले स्पष्ट पारेका छन् । “सबै प्रक्रिया पूरा गर्दा फागुनको पहिलो हप्तासम्म काम सकिन्छ । त्यसपछि हामी घर जान्छौँ ।” मन्त्री थापाले भने ।



प्रतिक्रिया दिनुहोस्