Logo

संवैधानिक निकायका प्रमुखबिच भएको भेटबारे निर्वाचन आयोगको स्पष्टोक्ति



२३ पुस, काठमाण्डौ । संवैधानिक निकायका प्रमुखको भेटबारे विभिन्न टिकाटिप्पणी भएपछि निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले एक विज्ञप्ति जारी गर्दै पुस १९ गतेको भेटघाटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग तथा महालेखा परीक्षकको कार्यालयका पदाधिकारी एवंसचिवहरूको उपस्थिति रहेको उल्लेख गरेका छन् ।

सो अवसरमा संवैधानिक निकायहरूबीच अपासी सौहाद्र्धता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा सम्पूर्ण निकायका पदाधिकारीहरूबीच आपसी छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तो अनौपचारिक कार्यक्रम प्रत्येक महिनाको एक पटक चक्रीय रूपमा सबै संवैधानिक निकायमा आलोपालो गरी बस्ने समझदारी यसपूर्व नै भइसकेको भन्दै पहिलो पटक लोकसेवा आयोग, दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र यो तेस्रो पटक निर्वाचन आयोगमा आयोजना गरिएको ढकालले जनाएका छन् ।

यसपछि महालेखा परीक्षकको कार्यालयमा यस्तै प्रकारको कार्यक्रमको आयोजना हुने समझदारी भएको पनि आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्