Logo

बहुप्रतिक्षित ओली–प्रचण्ड भेटवार्ता सम्पन्न, यस्ता छन् सहमति



काठमाडौं, २३ पुस । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको वान-टु-वान वार्ता भर्खरै सम्पन्न भएको छ ।

भक्तपुरस्थित् एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको दुई नेताहरुवीचको भेटवार्तामा तीन वटा विषयमा सहमति भएको बुझिएको छ । भोलि नै दुवै पार्टीले आ–आफ्नो बैठक बोलाएर एकताबारे छलफल गर्ने पहिलो सहमति भएको छ। अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार एमालेले स्थायी समिति र माओवादी केन्द्रले हेडक्वार्टर बैठक भोलिको लागि आह्वान गर्ने आजको भेटवार्तामा सहमति बनेको छ ।

त्यस्तै एकतापछिको पार्टीको साँगठानिक संरचना कस्तो बनाउने भन्नेबारे पनि कुराकानी भएको स्रोतको दाबी छ । भोलि दुवै पार्टीको बैठक सम्पन्न भएपछि पर्सी एकता संयोजन समितिको बैठक बस्ने आन्तरिक सहमति ओली र प्रचण्डवीच सहमति भएको हो ।

पछिल्लो एक हप्तादेखि दुई नेताहरुवीच भेटवार्ता हुने हल्ला चलिरहेको थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड विशेष कामले चितवन जानपुरेको र एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन ।

ओलीलाई भेट्न भनेर नै प्रचण्ड आज स्थलमार्ग हुँदै चितवनबाट काठमाडौं आएका हुन् । मौसम प्रतिकुल हुँदा चितवनबाट आज कुनैपनि उडान भएको छैन ।



प्रतिक्रिया दिनुहोस्