Logo

संसदीय दलको नेता बन्न कांग्रेसभित्र दौडधुप सुुरु : सके देउवा आँफै बन्ने, नभए सशांकलाई सर्वसम्मतीमा चयन गर्ने



काठमाडौं, २४ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने र सार्न हुँदैन भन्ने मत बाझिएको छ । संसदीय दलको नेतामा देउवालाई नउठ्न उनकै खेमाका नेताहरुले सुझाएका छन् । तर देउवा भने परिस्थिति हेरेरमात्रै निर्णय गर्ने पक्षमा उभिएका छन् ।

प्रकाशमान सिंह चुनावी मैदानमा उत्रिने सम्भावना बढेसँगै अहिले यस्तो चर्चा सुरु भएको छ । सिंहले आन्तरिक रुपमा सभापति देउवासँग चुनाब लड्ने सम्भावना बढेर गएको आफू निकट नेताहरुलाई बताउन थालेपछि देउवा पक्षधर नेताहरुले आन्तरिक तयारी थालेका हुन् । उनीहरुले सिंहसँग प्रतिष्पर्धा गरे गलत अर्थ लाग्ने सुझाव दिएका छन् ।

रामचन्द्र पौडेलको समुहबाट सिंह चुनावी मैदानमा आउने भएका हुन् । केही समयअघि मात्र सभापतिमा पराजित पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएका छन् । प्रकाशमान मैदानमा आउने भएका हुन् । तर देउवाले संसदीय दलको नेता दिन अस्वीकार गरेपछि पौडेल पक्षले पनि निर्विरोध हुन नदिने पक्षमा उभिएको छ ।

आफू नउठे सशांकलाई सर्वसम्मत बनाउने देउवाको चाहनाः

देउवाले आफू सर्वसम्मतीमा दलको नेता हुने अवस्था नआए वर्तमान महामन्त्री एवम् विपी पुत्र डा. शशांक कोइरालालाई सर्वसम्मतीमा नेता बनाउने समेत विकल्प राखेका छन् । यदि त्यसमा पनि सहमति हुन नसके उनले आफू निकटका नेताद्धय ज्ञानेन्द्र कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई चुनावमा उठाउनेछन् ।

स्रोतले दिएको जानकारी अनुसार देउवाले खाँणभन्दापनि हालका अर्थमन्त्री समेत रहेका नेता कार्कीलाई अघि सार्ने आन्तरिक तयारी गरेको खुलासा भएको छ ।
सभापति देउवाले यो पटक आफू दलको नेता नबन्ने निधो गरेका छन् । उनले आफ्ना विश्वासिला नेता कार्कीलाई नै अघि सार्ने तयारी गरेका छन् । संसदीय दलको नेतामा अर्का नेता प्रकाशमान सिंहको पनि चर्चा छ ।

देउवा पक्षधर नेता बालकृष्ण खाँणलाई तत्काल दलको नेता नदिने मुडमा देउवा पुगेका छन् । कार्कीको पक्षमा बरिष्ठ नेता विजयकुमार गच्छदार उभिएका छन् । उनले देउवालाई कार्कीलाई समर्थन गर्ने ग्रिन सिग्नल दिईसकेका छन् ।

महामन्त्री कोइरालालाई बनाउनुपर्ने युवा नेताहरुको दबाब:

यता महामन्त्री डा. कोइरालालाई नै संसदीय दलको नेता बनाउनुपर्ने पक्षमा युवा नेताहरु उभिएका छन् । नेता दिपक खड्काको नेतृत्वमा युवा नेताहरुले लविङ सुरु गरिसकेका छन् । स्रोतका अनुसार उनीहरुले सभापतिलाई समेत भेटेर यस्तो दबाब दिने तयारी थालेका छन् । यसभन्दा अघि उनीहरुले कोइरालालाई भेटेर तयारी थाल्नकोलागि आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्