Logo

प्रबुद्ध समूहद्वारा अध्यक्ष प्रचण्डसँग भेट



काठमाडौं, २४ पुस । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेको हो । भेटमा समूहले नेपाल–भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएको थियो । प्रतिनिधि मण्डलले हालसम्म पाँचपटक द्वीपक्षीय बैठक बसेको र सन् १९५० को सन्धि र सीमा व्यवस्थापनबारे छलफल जारी रहेको अवगत गराएको थियो ।

प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच विगतमा भएका सन्धि, सम्झौतालाई नयाँ आधारमा पूनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूहलाई सुझाव दिनुभयो । प्रचण्डले भन्नुभयो, ‘गणतन्त्रको घोषणापछि हामी नयाँ युगमा प्रवेश गरेका छौं । विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि सम्झौता र मूख्यतः सन् १९५० को सन्धि असमान रहेको छ । तपाईहरुले राष्ट्रिय हितका पक्षमा जुन चासों र जिम्मेवारी बोधका साथ भूमिका खेल्नुभएको छ, यसले नेपालको स्वाभिमानलाई उचो राख्न र नेपाल–भारत बीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मेरो विश्वास रहेको छ ।’

‘नेपाल–भारत बीच विगतका भएका असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नुपर्दछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘खुल्ला सीमानाको व्यवस्थापन हाम्रो चासोंको विषय हो । नेपाल–भारत बीचको सामाजिक–सांस्कृतिक र जनस्तरको सम्बन्धमा हामी सचेत छौं । तर, सीमा व्यवस्थापन गर्दै ढिलो चाँडो हामी सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्छ ।’

भेटमा नेपालका राजनीतिक दलहरु मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछि नेपाल–भारत बीचको पारस्पारिक सम्बन्ध पनि थप उचाईमा उठ्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्वर आचार्य लगायतका विज्ञहरु सहभागी हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्