Logo

दलीय सहमति गरेर दुई दिनभित्रमा प्रदेश प्रमुख तोक्ने प्रयासमा सरकार



२५ पुस, काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले कम विवाद होस् भन्ने तरिकाले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले सबै दलहरुसँग सहमति गर्ने प्रयास भइरहेकाले प्रदेश प्रमुख नियुक्ति गर्न ढिलाई भएको बताएका हुन् ।

यसअघि सोमबार नै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी भए पनि सबै दलसँग सहमति गरेर मात्रै नियुक्ति गर्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको थापाले बताए ।
अब बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने थापाले बताएका छन् । तयार नपुगेकाले सोमबार मन्त्रीपरिषदको बैठक नै नबसेको जानकारी दिदै मन्त्री थापाले आगामी बैठकले नियुक्ति गर्ने बताए ।

मन्त्री थापाले प्रदेशको राजधानी सरकारले तोक्न नसक्ने स्पष्ट पारेका छन् । प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले संविधान बमोजिम समस्या समाधानको उपाय खोज्ने थापाले बताए ।

अस्थायी राजधानी तोक्ने कुरा संवेदनशील भएकाले सरकार गम्भीर भएको थापाको भनाई छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी नतोक्दासम्मका लागि सपथ ग्रहण गर्ने ठाउँको बन्दोवस्त भने सरकारले गर्ने जानकारी थापाले दिए ।



प्रतिक्रिया दिनुहोस्