Logo

एमाले–माओवादी एकता संयोजन समितिको बैठक सम्पन्न : प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन



काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

बैठकबाट बाहिरिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले भने,“पार्टी एकता हुँदैन कि भनेर अब शंका नगर्नुहोस्, अब एकता अघि बढ्यो, कसैले रोक्न सक्दैन्।” उनले एमाले अध्यक्ष ओली भोलि उपचारको लागि बैंकक जाने भएकोले एक सातापछि पूनः बैठक बसेर सबै कुरा टुँगो लगाउनेपनि जानकारी दिए ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका बुधबार सार्वनजिक गर्दैछ। प्रतिनिधि सभा निर्वाचनमा ६०/४० को भागवण्डा गरेका दुई दलले राष्ट्रिय सभामा पनि सोहि अनुसारको भागवण्डा गर्दैछन्। त्यस्तै सातै प्रदेशमा सरकार निर्माणका लागि समेत दुई दलले अग्रसरता देखाएका छन्। प्रदेश नं २ बाहेक ६ प्रदेशमा गठबन्धनको बहुमत छ। कार्यदलले प्रदेश सरकारको मुख्यमन्त्री देखि सरकारमा रहने मन्त्रीसम्मको भागवण्डा मिलाउनेछ।

बैठक पार्टी एकताका लागि कार्यदल गठन गर्ने विषयमा छलफल गरेपनि निष्कर्षमा भने पुग्न सकेनन्। गौतमले सैद्धान्तिक र संगठनात्मक स्वरुप निर्माणबारे कार्यदल बनाउने विषयमा अर्को बैठकमा छलफल हुने बताए।



प्रतिक्रिया दिनुहोस्