Logo

ज्यानमारालाई झैँ केसीलाई पक्राउ गरिएकोप्रति नेपाल मेडिकल एसोसियसनको आपत्ति



२६ पुस, काठमाण्डौ । नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले बयानका लागि पक्राउ परेका डा. गोविन्द केसी वा सर्वोच्च अदालत कसैको पक्षमा नभै कानुन र विधिको पक्षमा रहेन स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले लोकतन्त्रमा न्यायपालिका नै सौन्दर्यता हो भन्ने ठहर एसोसियसनको रहेको बताए ।

केसीलाई अपहेलना मुद्दामा पक्राउ गरिएको कुरालाई ठीक वा बेठीक भन्नुभन्दा पनि विधि र प्रक्रिया पहिलो कुरा भएको उनको भनाई छ ।
तर ज्यानमारालाई समाते झैँ गरी केसीलाई समातेर लगेको प्रति आफूहरुको आपत्ति रहेको श्रेष्ठले बताए । राज्यले असभ्य व्यवहार गरेर मानवअधिकारको हनन गरेको श्रेष्ठको आरोप छ ।

“अमानवीय कार्य गरियो । यसप्रति हाम्रो घोर आपत्ति छ ।”
अदालतको मान हानी गरे नगरेको विषयमा बहसपछि मात्रै बोल्न मिल्ने उनले बताए । “सम्मानित अदालतले फैसला गर्ला । त्यसपछिको कुरा बेग्लै हो ।” उनले भने ।

केसीले सर्वोच्च अदालत संस्थागत रुपमा गलत भएको नभनी प्रधानन्यायाधिश गोपाल पराजुलीले गलत काम गरेको किटान गरेकाले अदालतको अपहेलान नहुने श्रेष्ठको भनाई छ ।

तर डा. शशी शर्मालाई सर्वोच्चले पुर्नबहाली गरेको विषयमा केसीले अनशन गर्नु गलत भएको श्रेष्ठको दाबी छ ।
अदालतभित्रका कमी कमजोरीलाई औँल्याउनु उचित भए पनि अदालतको फैसला मान्दिन भन्नु गलत भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्