Logo

आयल निगमको ४८ औँ वार्षिकोत्सव : वैकल्पिक ऊर्जाको व्यवस्थापनमा जोड



काठमाडौँ, २६ पुस : पेट्रोलियम पदार्थको निर्भरतालाई घटाउँदै वैकल्पिक ऊर्जाको व्यवस्थापनमा लाग्नुपर्नेमा सरोकार भएका निकायका अधिकारीले जोड दिनुभएको छ ।

नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्दले विश्वमा सबैभन्दा बढी तेल उत्पादन एवम् निर्यात गर्ने संयुक्त अरब इमिरेट्सले समेत वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि करोडौँ डलर खर्च गरिरहेको सुनाउनुभयो ।

आर्थिक विकासका लागि मात्र नभई सार्वभौमसत्ताको रक्षाका लागि पनि पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाइनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष अनिलकुमार ठाकुरले रणनीतिक र व्यापार योजना तयार गर्ने तयारी गरिएको बताउनुभयो ।

“मन्त्रालयले ऊर्जा नीति ल्याउने तयारी गरेको छ, नीतिमा वैकल्पिक ऊर्जाका विषयमा स्पष्ट खाका आउनेछ, पेट्रोलियम पदार्थको निर्भरता घटाउन वैकल्पिक ऊर्जाको आवश्यकता छ, आपूर्ति नीति तयार भइसककेको छ”–उहाँले भन्नुभयो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको पाइपलाइन पूरा गर्न र भण्डारण क्षमता बढाउन लागिएको बताउनुभयो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले ४८ औँ वर्षमा रु डेढ अर्बको सम्पत्ति जोड्न सफल भएको जानकारी गराउनुभयो ।

पशुपति क्षेत्रको सफाइमा सहयोग

निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्रको सफाइका लागि सहयोग स्वरुप मिनी टाटा उपलब्ध गराएको छ । पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलालाई मन्त्री चन्दले सवारीको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा निमित्त कार्यकारी निर्देशक भट्टराईले सवारी सञ्चालनका लागि आवश्यक चार जना कर्मचारीको तलब छ वर्षसम्म उपलब्ध गराउने घोषणा गर्नुभयो । पशुपति क्षेत्रको क्रियापुत्री भवन क्षेत्रको सफाइमा संलग्न दुई जना कुचिकार (स्वीपर) को तलब पनि निगमले कोषमार्फत दिने भएको छ ।

वार्षिकोत्सवका अवसरमा निगमले वाग्मती सफाइ महाअभियानमा प्रत्येक हप्ताको शनिबार संस्थागत सहभागिता जनाउने भएको छ ।

निगमले संस्थापक महाप्रबन्धक सूवर्णविक्रम थापाको सम्झनामा स्थापना गरेको सुवर्ण स्मृति पुरस्कार हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत सुरक्षाकर्मी यादव खड्कालाई प्रधान गरेको छ । पुरस्कारको राशि रु ५१ हजार छ । मूल्य समायोजन नहुँदा रु ३८ अर्ब ऋणमा रहेको निगम स्वचालित मूल्य समायोजनमा गएसँगै नाफामा गएको सो अवसरमा जानकारी गराइयो ।



प्रतिक्रिया दिनुहोस्