Logo

मलाई अबको राष्ट्रपति भनिदिएकोमा ऋषि धमलाको मुखमा दुध र भात : झलनाथ खनाल, बरिष्ठ नेता–नेकपा(एमाले)



नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले आफूलाई जस्तोसुकै जिम्मेवारी दिएपनि कुशलताका साथ उक्त जिम्मेवारी निर्वाह गर्ने जनाएका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षमध्ये जे भएपनि आफूले भूमिका निर्वाह गर्ने बताए । एमाले–माओवादी केन्द्रवीचको पार्टी एकता, एकतापछिको अध्यक्ष को ? प्रधानमन्त्री को ? र नेताहरुको पदीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेता खनालसँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ खनालसँगको कुराकानीको सम्पादित अंश :

आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहलाई तपाईहरुले सम्झिनुभयो ?

उहाँ राजा हो । त्यतिवेलाको युग सामन्तीहरुको युग थियो । उहाँले गोरखा राज्यलाई विस्तार गर्ने अभियानमा आधुनिक नेपाल बनाउनुभयो । उहाँलाई हामी जहिल्यैपनि सम्मान गर्छौं ।

एमाले–माओवादीवीच एकताको मापदण्ड के–के बनाउनुभयो ?

पार्टी एकता गर्नको लागि हरेक हिसावले मापदण्डहरु बनाईएका छन् । लामो समयदेखि हामीले काम गर्दै आएका मार्गदर्शन, नीति र सिद्धान्त नै एकताको लागि मापदण्डहरु हुन् । अब मतभिन्नताहरु समाप्त हुँदैछन् । लोकतन्त्रको बाटोबाट अघि बढ्ने ठाउँमा आईपुगेका छन् ।

पदीय बाँडफाँडले गर्दा ठूलो महाभारत छ अरे नि ?

सबै नेताहरुलाई व्यवस्थापन गर्ने हामीसँग प्रचुर सम्भावनाहरु छन् ।

अब प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड हो त ?

अहिले हामीले पदको बारेमा कुनै निर्णय गरेका छैनौं । पदको बाँडफाँड गर्दा हामी कमरेड पुष्पलालले लिएको अवधारणालाई ध्यानमा राख्छौं । त्यो दर्शन भनेको के हो भने कम्युनिष्ट पार्टीमा जहिल्यैपनि नीति प्रदान हुन्छ, नेता होईन् । नेकपा एमालेमा नेता प्रधान कहिल्यै पनि छैन् । एमाले नेताका आधारमा चलेको छैन् । हामी त नीतिका आधारमा चलेका छौं । हामी सिद्धान्तको आधारमा चल्छ । अब एकतापछिको पार्टी पनि एकताबद्ध भएर चल्छ । नीति र सिद्धान्तमात्रै भएर हुँदैन यसलाई नेतृत् वगर्ने पनि चाहिन्छ । हामीसँग कलेक्टिभ नेताहरु हुनुुहुन्छ ।

अबको राष्ट्रपति तपाई बन्ने हो ?

तपाईको मुखमा दुध र भात जाओस् । मैले त के भने मलाई कुनैपनि प्रकारको जिम्मेवारी दिईयो भने म त्यसको लागि तयार छु । मलाई यो बनाउ भनेर माँग गर्दिन् । दाबी गरेर हिँडेको छैन । यदि मेरो आवश्यकत्ता महशुस गर्छ भने म काम गर्छु ।

पार्टी एकतापछिको अध्यक्ष, राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये तपाई के बन्ने त ?

म यी कुनैपनि पदमा नबसेरपनि मलाई आनन्द छ । म देशको समुन्नतीको लागि लाग्न केहीले पनि रोकेको छैन।

एकतापछिको पार्टीको नाम के रहन्छ ?

नेपाल कम्युनिष्ट पार्टी बन्ने संभावना छ ।

ओली अध्यक्ष बन्ने कत्तिको संभावना छ ?

प्रवल संभावना छ नि । किन नहुनु ? धेरै संभावना छ । यहीमात्रै हुन्छ भन्ने निश्कर्ष निकाल्न सकिँदैन् । परिस्थति अनुसार हामी चल्छौं । हामी होमवर्क गर्दैछौं ।

सरकार निर्माण अघि नै पार्टी एकता हुन्छ त ?

ह्ुन्छ । त्यो आधारभुत रुपमा सही कुरा हो । ठ्याक्कै १५ दिनभित्रै एकता हुन्छ भनेर भन्न सकिँदैन् । तर हामीले प्राथमिकता दिएर काम सुरु गर्यौं । नयाँ सरकार गठन अघि नै एकता हुन्छ ।

उसो भए अब तपाईहरुले जबज र माओवाद कुनलाई आत्मसात् गर्नुहुन्छ ?

बहुदलीय जनवाद हामीले अपनाउँदै आएको बाटो हो । यसलाई हामीलाई आत्मसात् गरिसकेका छौं । नयाँ प्रस्तावहरुको बारेमा पनि हामी छलफल गर्छौं । हामी सम्वाद गर्छौं । अनि निश्कर्षमा पुग्छौं ।

प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई तपाईहरुको समर्थन छ त ?

प्रदेश प्रमुख त सरकारले तुरुन्त नियुक्त गर्नुपर्छ । मनोमानी ढंगले नभएर अहिलेको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर सहमतिमा नियुक्त गर्नुपर्यो ।

यदि यो सरकारले प्रदेश प्रमुख नियुक्त गर्यो भने तपाईहरुले कत्तिको विरोध गर्नुहुन्छ ?

सहमतिमा नियूक्त गर्नुभयो भने विरोध हुन्छ नि।

अहिले भएका सबै नियुक्तीहरु नयाँ सरकारले उल्टाईदिन्छ त ?

गलत नियुक्तीहरु उल्टिन्छन् ।

अस्थायी राजधानी कसले तोक्ने ?

राजधानी तुरुन्त गर्नुपर्छ । विवाद छ भनेर भाग्नुहुँदैन नि ।



प्रतिक्रिया दिनुहोस्