Logo

घलेलाई सांसद नबनाउन उद्योगपतिहरुद्धारा देउवाको ध्यानाकार्षण



काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको समानुपातिक सूचिमा नाम रहेका गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन भन्दै सभापति शेरबहादुर देउवासमक्ष कांग्रेस निकट उद्योगपतिहरुको समूह डेलिगेशन गएको छ ।

केही दिन अघिमात्रै उनै घलेलाई सांसद बनाउनुहुँदैन भन्दै महामन्त्री डा. सशांक कोइरालालाई नवलपरासीका कांग्रेस नेता तथा कार्यकर्ताहरुले चर्को दबाब दिएका थिए । खासगरी सशांक निकट मानिने घले विवादित उद्योगपति भएकोले उनलाई कांग्रेसका नेता तथा कार्यकर्ताहरु र उद्योगपतिहरुले समेत रुचाएका छैनन् ।

कांग्रेसको समानुपातिकतर्फ जनजातिको २ नम्बरमा कर्माको नाम छ । कर्मालाई सांसद बनाउने वचन महामन्त्री सशांकले दिएका छन्। उनले कर्मालाई सांसद बनाउन आफूले कुनै कसर बाँकी नराख्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

कर्मालाई सांसद बनाए आफूहरु कांग्रेसबाट बाहिरिने चेतावनीसहित आज सभापति देउवालाई भेट्न चर्चित उद्योगपतिहरुको डेलिगेशन गएको थियो । यसको नेतृत्व भने उमेश श्रेष्ठले गरेका थिए । श्रेष्ठसँगै विनोद चौधरी, अनिल रुगांटा, दिव्यमणि राजभण्डारी लगायतका उद्योगपतिहरुले आज देउवालाई भेटेरै घलेलाई सांसद नबनाउन दबाब दिएको स्रोतको दाबी छ ।

नवलपरासीका पूराना कांग्रेसी नेताहरुले घलेलाई सांसद बनाउनुपर्ने कारण के हो ? भनेर अहिले महामन्त्री कोइरालालाई प्रश्न तेर्साईरहेका छन् । तर जिल्लाबाट डेलिगेशन आएर केही नहुने बताउँदै महामन्त्री कोइरालाले भन्ने गरेका छन्,‘म घलेलाई नै सांसद बनाउँछु, म कसैको कुरा सुन्ने पक्षमा छैन, उहाँ योग्य र काबिल मान्छे हो।’

कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनुपर्छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् । आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् ।

कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् । त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् ।कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ ।

जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्