Logo

१६ जनालाई शहीद घोषणा गराउन सफल उद्योगमन्त्री थापा भन्छन्, “अब प्रदेश १ को राजधानी धनकुटा बनाउँछु”



२९ पुस, काठमाण्डौ । उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो पहलमा पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार शहीद घोषणा गरेको बताएका छन् ।

नेपलाी रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको बताए ।

धनकुटा जिल्लाकै बासिन्दासमेत रहेका तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले डाँडामा लाइन लगाएर गोली हानी सामुहिक हत्या गरेको थियो ।

नेकपा एमालेका नेताहरुले छिन्ताङकाण्ड तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा भएको आरोप लगाउँदै आएको थियो । तर, अहिलेसम्म एमाले नेताहरु सरकारमा पटक–पटक जाँदा पनि उनीहरुलाई सहीद घोषणा गरिएको थिएन ।

अन्ततः उनै सूर्यबहादुर थापाका छोरा उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा शुक्रबार मन्त्रिपरिषदले उनीहरुलाई सहीद घोषणा गरेको छ ।
छिन्ताङ काण्डमा मारिएका मध्ये १५ जनाको पञ्चकन्या डाँडामा सामुहिकरुपमा शालिक बनाइए पनि उनीहरुलाई सरकारले अहिलेसम्म आधिकारिकरुपमा सहीद मानेको थिएन ।

छिन्ताङमा मारिएकाहरुलाई आफूले शहीद घोषणा गर्ने प्रतिवद्धता गत चुनावमा जनाएको र सोहीअनुरुप मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्री सुनीलबहादुर थापाले बताए । “जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न सकेकोमा खुशी छु । एमालेकै नेतृत्वमा सरकार बन्दा समेत हुन नसकेको काम गरेको छु।” मन्त्री थापाले भने ।

साथै माओवादी द्वन्द्वमा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँचजना कार्यकर्तालाई पनि पहिलो चरणमा शहीद घोषणा गरिएको र जिल्लाका अन्य शाहदात प्राप्त व्यक्तिहरुलाई पनि क्रमशः शहीदको मान्यता दिइने थापाले बताए ।

फरक प्रसङ्गमा थापाले प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा र्नै हुने दाबी गरेका छन् । आफूले धनकुटालाई राजधानी बनाउन पहल गरिरहेको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको थापाको भनाई छ ।

अब बस्ने मन्त्रीपरिषद बैठकअघि सर्वदलीय बैठक बसेर अस्थायी राजधानी र प्रदेश प्रमुखको विषयमा सहमति खोजिने थापाले बताए । सहमति नभएमा अब भने ढिला नगरी सरकारले अस्थायी राजधानी र प्रमुख तोक्ने काम गर्ने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्