काठमाडौं १ माघ । तिलाठी कोइलाडी गाउपालिका खाडोखोलाको पूर्वी तटबन्ध नजिक चियापसल गरिरहेकी कुसुमदेबी मण्डललाई नेपाल रेडक्रस सोसाईटी सप्तरीले उनलाई दुईथान कम्बल उपलब्ध गरायो ।
तर उनले ती कम्बल घर लगेर जाडो छल्न प्रयोग गरेनन् । घर भित्र रहेको बाकसमा सुरक्षित राखे । ‘यसैवर्ष छोरीको बिहे गर्नुछ उनलाई दिनका लागि राखे’ कुसुमदेबीले भने ।
शनिवार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ का सासंद उपेन्द्र यादबले छिन्नमस्ता गाउपालिकाको लोखरममा कम्बल बितरण गर्दे भने, ‘यो कम्बल जाडो छल्नका लागि ओढ्नु होला, पाहुनाका लागि साचेर नराख्नु होला ।’
पछिल्लो २ सातादेखि जिल्लाका बिभिन्न वस्तीमा बिभिन्न संघ संस्थाको सहयोगमा कम्बल बितरण गर्दे आएका सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अनुभव पनि फरक छैन् । उनी भन्छन् ‘कतिपय परिवारमा ओढने छन् तर बाहिर निस्कदा पातलो सर्ट मात्रै लगाएर गइदिन्छन्, जसका कारण चिसोले समस्या पार्छ ।’
यी उदाहरण मात्र हुन् । शितलहरको चपेटामा परेको सप्तरी जिल्लामा स्थानीय प्रसासनले बिभिन्न संघ संस्थाको सहयोगमा हाल सम्म १५ हजार भन्दा बढी कम्बल बितरण गरेपनि अझैपनि विपन्न बस्तीमा न्यानो लुगाको अभाव नै रहेको स्थानीयहरुको दाबी छ । यसवर्ष जस्तै परिमाणमा हरेक वर्ष न्यानो लुगा बितरण गरिदै आएपनि वर्षेनी न्यानो ओढ्नेको अभाव हुने गरेको तथा जाडोमा न्यानो लुगा नभएकै कारण कठयाग्रिंएर मृत्यु हुन्छ ।
सरकारी निकाय र संघ संस्थावाट बितरण हुने कम्बल, ब्लाङकेट लगायतका न्यानो लुगा कहाँ जान्छन् त ? सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छन्, ‘कम्बल हरेक घरमा छ तर प्रयोग गर्देनन्, चेतनाको अभाव छ ।’ केहीको सन्दर्भमा प्रजिअ पाण्डेको भनाई सत्य भए पनि यसरी शितलहरका समयमा बितरण गर्ने कम्बलहरु पातलो हुने, परिवारका ६ देखि १० जनासम्म रहदा एक परिवारमा एउटा मात्रै दिइने गरिएको कारण कम्बल जहिले पनि अभाव हुने स्थानीयको भनाइ छ ।
तिलाठी कोइलाडी ८ का बौका सदाले भने, ‘ ८ जनाको परिवार छ गत वर्षको एउटा र यसवर्षको एउटा अनिआफनो घरमा रहेको गरी तिनटा पातलो कम्बल छ कसरी जाडो काटनु ?’ उनले भने ‘बरु एउटा दिनु तर आकार ठूलो र जाडो जानेखालको मोटो दिदा हुन्छ ।’ शितलहरका कारण यसवर्ष २ हप्तामा मात्र सप्तरी जिल्लामा २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका अधिकांस विपन्न परिवारका छन् । ती परिवारहरुमा ओढने भएपनि परिवारमा रहेको सदस्य संख्याका आधारमा निक्कै कम रहेको,ओढने पातलो रहेको तथा शितलहर अत्यधिक रहेकाले छल्न समस्या भएको तिलाठी कोईलाडी ८ की दलित महिला सदस्य मानती सदाले बताए ।
उनले भने ,‘बिपन्न बस्तीमा एउटा पातलो कम्बलले एकवर्षको जाडो काट्न मुस्किल छ, कसरी अर्को वर्ष सम्म राख्नु ?’
प्रजिअ पाण्डेले ओढने न्यानो लुगाको अभाव भन्दा पनि चेतनाको अभावमा शितलहरमा ज्यान गुम्ने गरेको बताए । उनले भने, ‘भएका न्यानो लुगा समेत प्रयोग गरिदिदैनन्, जसले शितलहरले प्रभाव पार्छ ।’ तर अझै पनि सप्तरी जिल्लाका धेरै विपन्न बस्तीमा परिवार भित्र संख्याका आधारमा ओढने छैन् । एउटै ओढने भित्र धेरैजना जाडो छल्न बाध्य छन् ।
यो वर्षमात्र सप्तरीको चिसो प्रभावित क्षेत्रमा १५ हजार कम्बल वितरण भएको तथ्याङ छ । गत वर्ष पनि करिब यतिनै कम्बल वितरण भएको थियो ।
गत वर्षको कम्बल अहिले छैन
सर्लाही– चक्रघट्टा पटेर्वाका केवल माझीको एक कोठाको झुप्रो घरमा जनाको परिवारअटाएको छ । जाडोमा भए भरको लुगा लगाएर आगो ताप्दै गुजारा गर्नु उनको दिनचर्या जस्तै बनेको छ ।
मधेसमा शितलहर सुरु भएपछि गत हप्ता उनको गाउँमा न्याना लुगा वितरण भए । अघिल्लो बर्षपनि उनले जाडोमा न्यानो लुगा र कम्वल पाएका थिए । गतबर्षका कुनै लुगा उनीसँग छैन् । ‘लुगा र कम्वल राख्ने बाक्सा नभएर लुगाफाटा एक सिजन भन्दा टिक्दैन,’ उनले भने, ‘हरेक बर्ष जाडो लागेपछि समस्या पर्छ ।’
जाडोमा बर्षेनी राहत स्वरुप न्याना ओढ्ने र कपडा पाउने गरिबको अबस्था उनकै जस्तो छ । अधिकांसको घरमा ढोकासम्म छैन । जाडो लागेपछि चिसो नछिरोस भनेर गुन्द्रीले ढोका ढाक्ने चलन छ ।
लालबन्दी ५ का धनेश्वर माझीको घरमा पनि एकथान कम्बल मात्र छ । यसबर्ष उनले थप दुईवटा कम्बल राहतमा पाए । अहिलेको कम्बल अर्काे जाडोमा हराइसक्ने उनी बताउँछन् । उनको घर बाहिर लुगा झुण्ड्याउन एउटा डोरी बाहेक कपडा राख्ने ठाउँ कतै छैन् । ‘गर्मिभरी कम्बल र बाक्ला लुगाको वास्ता हुंदैन,’ उनले भने, ‘जाडो सुरु भएपछि भेटिंदैन् । राख्ने ठाउँनै नभएर लुगा हराउँछन् ।’
झण्डै ८ महिना गर्मि हुने मधेसमा जाडोमा पाएका लुगा स्याहार हुंदैन् । गर्मिको अबधिमा ती लुगा कता पुग्छन भन्ने थाहै हुंदैन् ।
मुसहर अगुवा पाचु माझीले भरपर्दा घर, पर्याप्त ठाउँ र बाक्सा नभएकै कारण हरेक बर्ष एउटै ब्यक्तिलाई राहत चाहिने गरेको बताए ।
‘न्यानो लुगा नटिकाएको भनेर अरुले भन्ने गर्छन,’ उनले भने, ‘हाम्रो बाध्यता कसैले बुझेका छैनन् । गर्मि र जाडो यामको लुगा एक सिजनका लागि मात्र हुने गर्छ ।’ उनले गरिब बस्तीमा न्यानो लुगासंगै बाक्सा दिने योजना जरुरी रहेको बताए ।
जिल्लामा गतवर्ष कम्तिमा पाँच हजार कम्बल वितरण भएको थियो । यो वर्ष त्योभन्दा बढी वितरण भएको जिल्ला रेडक्रसले जनाएको छ । सर्लाहीमा हालसम्म चिरोका कारण तीन जनाको मृत्यु भएको थियो ।
‘बाढीले कपडा बगायो’
रौतहट– गौर ५ धांगड टोलका राजकुमार महतो धाँंगडसंँग तातो लत्ताकपडा छैन । दाताले दिएको र आफ्नो आम्दानी किनेको लत्ताकपडा बाढीले बगाई दिएपछि जाडो छल्न गाह्रो भएको उनले बताए । ‘भएजतिको कपडा बाढीले बगायो,’ उनले भने, ‘शरीरमा लाएको कपडा बाहेक केही पनि जोगाउन सकिएन ।’ हुने खानेले त कपडा किनेर जसोतसो काम चलाई रहेका छन । दैनिक ज्याला मजदुरी गरी छाक टार्नु पर्छ । कपडा खरीद गर्न पैसा नै पुर्याउन नसक्ने अवस्था बस्तीको रहेको उनले बताए ।
धांगड बस्तीमा एक सय बढी परिवारका ३ सय बढी मानिसहरुको बसोवास रहेको गाउको अगुवा समेत रहेका धांँगडले जानकारी दिए ।
जाडो सकिएपछि न्यानो कपडा कम्बल, सिरक, स्वीटर, ज्याकेट पोकामा बांधेर राख्ने चलन दलित विपन्न परिवारको रहेको उनले जनाए । बाढीको प्रकोपबाट उन्मुक्ती नपाउदै जाडोको प्रकोपले सताउन थालेको गौर ५ निवासी शैलेन्द्र गुप्ताले बताए ।
‘बाढीले दलित विपन्नहरुको मात्र होईन,’ उनले भने, ‘यहाका सम्पन्न परिवार, गैर दलित सबैको कपडा बगाई दियो ।’ यस वर्ष यहाका दलितलाई मात्र नभई बाढी पीडित सबै परिवारलाई कपडाको अभाव भएको उनले बताए ।
जाडोले कठ्याङग्रीएर मर्ने मध्ये १ बालिका र बाकी अधिकांश जेष्ठ नागरिक भएको रौतहटका निमित्त प्रमुख जिल्लाअधिकारी गणेश अधिकारीले बताए ।
‘जाडोबाट मर्नेहरुको तथ्यांङक हेर्दा कुनै जाती विशेषका मानिसहरु परेका छैनन,’ उनले भने, ‘सबै जातीका मानिसहरु परेका छन ।’ जेष्ठ नागरिकहरु सबैलाई एकैनासले न्यानो कपडा उपलब्ध गराउन आवश्यक प्रक्रिया थाल्न महिला तथा बालबालिका कार्यलय रौतहटका प्रमुखलाई आईतवार निर्देशित गरिएको उनले बताए । बढेको अत्याधिक चिसोले कठ्याङग्रीएर रौतहटमा थप ५ जनाको मृत्यु भएको छ । जाडोको कारण आईतवार सम्ममा रौतहटमा एक नबालिका सहित मर्नेको संख्या २१ पुगेको छ ।
तथ्याङ छैन
धनुषा–शितलहर र जाडो बढेपछि गरिब दलित बस्तीमा न्यानो लुगा, कम्बल, ब्ल्याङ्गकेट र आगो ताप्न काठ बितरण गर्न ताती लागेको छ । तराईका विपन्न मुसहर, चमार, डोम, तत्माको बसोबास भएको बस्तीमा राहत बाडनेको भिड छ ।
शितलारले जनजिवन प्रभावित भएको बेला वर्षेनि गरिब बस्तीमा राहत वितरण हुन्छ । समाज सेवाको उद्येश्यले वर्षेनि विभिन्न सघ, संस्थाले कम्बल र ब्ल्याङ्गकेट वितरण गर्छन । गरिब परिवारले सरकारी तथा गैर सरकारी संस्थाबाट पाउने कम्बल र ब्ल्याङ्गकेट काहा जान्छन् । कुन गरिब बस्तीमा कस्ले कति कम्बले वितरण गरेको लेखाजोखा कतै पाइदैन । जिल्ला सञ्चलनको जिम्मेवारी लिएका जिल्ला प्रशासन कार्यालय संग समेत कम्बल वितरणको विवरण छैन ।
जिल्ला प्रशासन कार्याल धनुषामा ०७२ मंसिर २७ गते जिल्ला प्रकोप उद्धार समितिको बैठकले शितलहरले जनजिवन प्रभावित भएको भन्दै ६ निर्णय गरेको थियो । प्रभावित क्षेत्रमा आगो पाप्न काठ, चिसोबाट भएका विरामिलाई औषधि, कृषी क्षेत्रमा हुने क्षति रोक्न प्रचार प्रसार संगै निर्णय नं. ४ मा गरिब असहायहरुका लागि आवश्यक कम्बलका लागि सरकारी तथा गैर सरकारी संस्थासंग अनुरोध गर्ने निर्णय गरेको थियो ।
धनुषामा शितलहरबाट प्रभावित क्षेत्रमा राहतकालागि ०७३ म दुई पटक बैठक बसेको छ । ०७३ मंसिर ९ गते जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठबाट ७ बुदे निर्णय गरे । निर्णय नं. ४ मा कम्बलका लागि संघ संस्था संग सहयोग मागेका छन् । एक महिना नबित्दै पुष ३ गते दोश्रो पटक बसेको समितिको बैठकको निर्णय नं. ३ मा शितलहरबाट पिडित भएका परिवारलाई राहत दिन केन्द्रिय दैविक प्रकोप व्यवस्थापन समिति संग ५० लाख रुपैया माग गरेका छन् । तर, कुन संघ संस्थाबाट कति सहयोग भएको र राहत कहा वितरण गरिएको विवरण उपलब्ध नरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कन्हैया मिश्रले बताए ।
‘बिगतका वर्षहरुमा चिसोले प्रभावित बस्तीमा कस्ले कति कम्बल बाँडे जानकारी छैन’, प्रशासकीय अधिकृत मिश्रले भने । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष धनुषामा रेडक्रसले २ सय थान, आरएनएन संस्थाले ६ सय थान, धुर्मुस सुन्तली फाउण्डेशनले १ सय २४ थान, राम रतन स्मृती प्रतिष्ठानले १ सय ७० थान र असाय संरक्षण मंचले १ सय ५० थान कमबल वितरण गरेको छ । कम्बल वितरण गरेको संख्या उपलब्ध भएपनि कुन बस्तीमा कती परिवारलाई कम्बल वितरण भएको जानकारी उपलब्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अवधेशकुमार झा (सप्तरी)/अमन कोइराला (सर्लाही)/पवन यादब (रौतहट)/सन्तोष सिंह (धनुषा)
कान्तिपुरबाट