Logo

दाङलाई राजधानी बनाउनका लागि हामी संघर्ष गर्छौँ, नसच्चिएसम्म आन्दोलन गर्छौँ : कृष्णबहादुर महरा



सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा आन्दोलन चर्किएको छ । प्रदेश प्रमुख कसलाई बनाइयो भन्ने विषयमा जनताले चासो नदिए पनि अस्थायी राजधानी भने आफ्नै क्षेत्रमा बनाउन माग गर्दै सडकमा उत्रिएका छन् । विभिन्न दलका नेताहरुले पनि अस्थायी राजधानीको विषयमा पक्ष–विपक्षमा धारणा सार्वजनिक गरेका छन् । यिनैमध्येका एक हुन्, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । महराले प्रदेश नम्बर ५ को राजधानी बुटवल तोकिएकोमा आपत्ति जनाउँदै दाङलाई अस्थायी राजधानी नतोकेसम्म आन्दोलन जारी राख्ने अभिव्यक्ति दिएका छन् । उनै महरासँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ । अन्तरवार्तामा समग्र राजनीतिक परिवेशलाई खोतल्ने प्रयास गरिएको छ ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । यो निर्णय तपाईलाई कस्तो लाग्यो ?
सरकारले अस्थायी राजधानी जनताको भावना विपरित तोकेको छ । सन्तुलित र्छैन । सम्वेदनशील हुनुभन्दा पनि कसैको स्वार्थबाट प्रेरित भएर अस्थायी राजधानी तोकिएको छ ।

माओवादीसँग छलफल गरेर सरकारले निर्णय गरेको होइन ?
कुनै पनि छलफल भएको छैन । सहमति पनि छैन ।

तपाईले प्रदेश पाँचको राजधानी दाङ बनाउनुपर्छ भन्नुभएको थियो । तर सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको छ । तपाईले सरकारलाई केही भन्न सक्नुभएन ?
हामी सरकारभन्दा बाहिर छौँ । राजधानीजस्तो संवेदनशील विषयमा सरकारले सहमति गर्नुपथ्र्यो । सन्तुलित तरिकाले जनताको भावना समेटिने गरि गर्नुपथ्र्यो । यसमा सरकार चुकेको छ ।

सरकारले त पटक पटक तपाईहरुलाई वालुवाटार बोलाएर सहमति को प्रयास गरेको थियो नि ?
छलफल र सहमति केही पनि भएन ।

प्रदेश पाँचको अस्थायी राजधानी बुटवल तोकिएपछि दाङबासी आन्दोलित भएका छन् । त्यहाँका जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?
म दाङबासीले गरेको आन्दोलनको पक्षमा छु । बुटवललाई अस्थायी राजधानी तोक्नु प्रधानमन्त्री शेरबहादुर देउवाको स्वार्थ पनि होइन । देउवाको स्वार्थ प्रेरित शक्तिहरुका कारण यो निर्णय भएको हो । यद्यपी यो देउवाको हार हो । सातवटा मध्ये ५ वटा अस्थायी राजधानी सिमावर्ती क्षेत्रमा छन् । राष्ट्रकै निम्ती निकै ठूलो प्रश्न हो । ति ठाउँका बारेमा पुर्नविचार गर्नुपर्छ ।

तपाईले त्यस क्षेत्रका जनतालाई दाङ नै अस्थायी राजधानी बनाउँछु भनेर आश्वासन दिनुभएको थियो । अब के गर्नुहुन्छ ?
हामी संघर्ष गर्छौँ । सच्याएर छाड्छौँ । नसच्चिएसम्म हामी आन्दोलन जारी राख्छौँ ।

तर बुटवलबासी त खुसी छन् नि ?
कोही खुशी होलान् । तर राष्ट्र र जनताप्रति संवेदनशील हुनेहरु खुशी हुने कुरै छैन ।

प्रदेश प्रमुखमा पनि तपाईहरुको विमति छ ?
हामीले प्रदेश प्रमुखमा पनि सहमति गरेको छैनौँ ।

अब वाम गठबन्धनको सरकार बनेपछि प्रदेश प्रमुख फेर्नुहुन्छ ?
त्यो कुरा अहिले भन्न सकिदैन । मेरो व्यक्तिगत धारणा भन्ने हो भने यो गलत निर्णय भएको छ । सच्याउनुपर्छ । यो सरकारले मनोमानी तरिकाले गरेका धेरै निर्णयहरु वाम गठबन्धनको सरकारले सच्याउँछ ।

तपाईहरु यति लामो समय विना विभागिय मन्त्री बनेर बस्नुभयो । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुभन्दा २ दिन अगाडि सरकारबाट बाहिरिनुभयो । किन ?
यो त मैले भन्ने कुरा होइन । पार्टीले निर्णय गरेपछि हामी सरकारबाट बाहिरिएका हाँै । प्रधानमन्त्री देउवाले नयाँ जनादेश आएपछि आफैँले राजिनामा दिएर नयाँ सरकार बनाउनका लागि वातावरण बनाउनुपर्ने बेलामा हामी त्यही सरकारमा बसिरहनु उचित थिएन । त्यसकारण हट्यौँ ।

एमाले र माओवादीबिच एकता प्रक्रिया चलिरहेको छ । एकताको मापदण्ड के बनाउनुभएको छ ?
मापदण्डको विषयमा हामी छलफल गर्दैछौँ । एमाले अध्यक्ष ओली फर्किनासाथ छलफल हुन्छ । त्यसपछि मापदण्ड तय हुन्छ । एकता नहुने कुनै कारण नै छैन ।

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्न सक्नुहुन्छ ?
यस विषयमा अहिले कुनै टुङ्गो लागेको छैन । को प्रधानमन्त्री बन्ने र को पार्टी अध्यक्ष बन्ने भन्ने विषय छलफलमै छ । ओली र प्रचण्डबिच पार्टी एकता गर्ने विषयमा सहमति भइसकेको छ । पदमा सहमति भएको छैन ।

पदीय भागबण्डा र नीतिगत दुवै पक्ष मिलाउन गाह्रो छ नि ?
दुई पार्टी एक हुनका लागि सजिलो हुने त कुरै भएन । तर पार्टी एकता हुँदैन कि भनेर चिन्ता गर्नुपर्ने कारण छैन । जटिलताकोबिचबाट सहजता ल्याउने कोशिस हुन्छ ।

तपाइहरुले बहुदलीय जनवादलाई स्विकार गर्ने पक्षमा हो ?
एमालेले आफ्नो अडान र माओवादीले आफ्नो अडान राखिरहने कुरा हुँदैन । दुवै पार्टी पुरानो अडानबाट अगाडि बढेर पार्टी एकता गर्ने हो । कुनै एउटा पार्टी अर्कोमा विलय हुने होइन । नयाँ पार्टी बनाउने हो ।



प्रतिक्रिया दिनुहोस्