काठमाडौँ, ५ माघ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टी पराजयको समीक्षालगायत विषयमा छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो ।
बिहीबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायत दुई दर्जन बढी नेताले बोल्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको बताउनुभएको थियो ।
उहाँले निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्ने र राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गरिनेसमेत बताउनुभएको थियो ।
बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको पराजयमा नेतृत्वको आलोचना र समीक्षा, राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, महासमिति बैठक बोलाउनुपर्ने, पार्टीको रुपान्तरणका लागि नयाँ रणनीति बनाउनुपर्नेलगायत विषयमा जोड दिनुभएको थियो ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्ने, सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत छलफल भइरहेको केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताउनुभयो । सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक बसेको हो । (रासस)