Logo

प्रदेश प्रमुखको सपथ कार्यक्रममा राष्ट्रपति कार्यालयको दादागिरी, पत्रकारलाई प्रवेश दिइएन



५ माघ, काठमाण्डौ । राष्ट्रपति कार्यालय शितल निवासमा संचारकर्मीहरुलाई निषेध गरिएको छ । पछिल्लो समय संचारकर्मीहरुप्रति कडा रुपमा प्रस्तुत हुँदै आएको शितल निवासले शुक्रबार पनि त्यस्तै व्यवहार देखाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रमको रिपोटिङ गर्न पुगेका फोटो पत्रकारहरुलाई राष्ट्रपति कार्यालयले प्रवेश नै दिएन ।

राष्ट्रपति निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच राष्ट्रपतिबाट सात प्रदेशका नवनियुक्त प्रमुखहरुले शपथ ग्रहण गरेका थिए । उक्त कार्यक्रमको दृश्य छायाङ्कन गर्न पुगेका पत्रकारहरुलाई कार्यालयले कार्यक्रम स्थलमा जानबाट रोक लगाएको थियो ।

कार्यालयले प्रवेश नै नदिएपछि पत्रकारहरुले क्यामरा भूइमा राखेर विरोध जनाएका थिए ।

शुक्रबार प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्लले प्रमुखको रुपमा सपथ ग्रहण गरेका छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्