Logo

अघोषित लोडसेडिङ गरेका कुलमानले चिलिमे जलविद्युत् आयोजनामा मनोमानी गरेको आरोप



५ माघ, काठमाण्डौ । लोडसेडिङमुक्त भएको भनेर विद्युत् प्राधिकरणले घोषणा नै गरे पनि पछिल्लो समय अघोषित रुपमा विद्युत आपूर्ति बन्द हुने गरेको छ ।
यसअघि घोषित रुपमा नै विद्युत आपूर्ति बन्द गराउने तालिका प्रकाशन गर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले अहिले त्यसो गर्दैन ।

प्राधिकरणको नेतृत्व सम्हाल्न कुलमान घिसिङ आएपछि चमत्कारिक रुपमा विद्युत आपूर्ति सहज भएको थियो । घिसिङको व्यवस्थापनका कारण लोडसेडिङ एकाएक हटेको थियो ।

अहिले पनि लोडसेडिङको अनूभूति हुँदैन । यद्यपी समय समयमा विद्युत आपूर्ति बन्द हुने गरेको छ । सुरुवाती केही महिना पूर्ण रुपमा लोडसेडिङ बन्द भए पनि पछिल्ला दिनमा भने बत्ति जाने गरेको छ ।
विशेषगरी जाडो महिना सुरुभएदेखि अक्लझुक्कल बत्ति जाने गरेको छ । तर घिसिङले लोडसेडिङ हटाएको आवरणमा चिलिमे जलविद्युत् आयोजनालाई डुबाउने खेल खेलेको आरोप लागेको छ ।

प्राधिकरणका एमडी घिसिङ आफैं चिलिमे जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्ष हुन् । घिसिङकै अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले चिलिमेकै खर्चमा सञ्चालक समितिका सबै सदस्यलाई आईएसओ (इण्टरनेशनल अर्गनाइजेसन अफ स्ट्याण्डर्डाइजेसन)को तालिम लिन भन्दै लण्डन भ्रमण गर्न जान दिने निर्णय गरेको छ । त्यस्तो तालिम नेपाल र भारतमै दिइन्छ । तर, घिसिङले सञ्चालकहरुलाई लण्डन पठाएका छन् ।

उक्त निर्णयअनुसार सञ्चालक समितिका सदस्यहरु तुल्सीराम ढकाल, रामप्रसाद रिमाल, भीमप्रसाद तिमिल्सिना, प्रसाद तामाङ, चिलिमेका सीईओ दामोदरभक्त श्रेष्ठ र कम्पनी सचिव नारायणप्रसाद आचार्य अहिले चिलिमेको खर्चमा लण्डन यात्रामा छन् । प्राधिकरण स्रोतका अनुसार दोस्रो चरणमा सञ्चालक समितिका अन्य सदस्यहरु हरराज न्यौपाने, मनोज सिलवाल, शान्तिलक्ष्मी शाक्य र लेखनाथ कोइराला लण्डन जानेछन् ।

दुवै टोलीको सबै खर्च चिलिमेको आम्दानीबाट गरिनेछ । दुई लटका लागि करोडौं रुपैयाँ खर्च हुनेछ । उनीहरु त्यहाँ तालिमभन्दा पनि घुमफिरमा व्यस्त छन् ।
जनताको लगानी भएको उक्त आयोजनाको पैसाबाट सञ्चालक समितिका सदस्यहरुलाई विदेश भ्रमणमा पठाउँदा आयोजनाको कुल आम्दानीमा ठूलो ह्रास हुने भन्दै घिसिङको आलोचना भएको छ ।

जनताको लगानी भएको उक्त आयोजनामा घिसिङले आफूखुसी कर्मचारी भर्ना गरेर आयोजनालाई आर्थिक रुपमा तहसनहस पार्ने काम गरेकोसमेत आरोप लगाइएको छ ।
सञ्चालकहरुलाई आफ्नो पक्षमा पार्न घिसिङले करोडौं रुपैयाँ खर्च गराएर तालिमको नाममा विदेश भ्रमण पठाएको कतिपयको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्