Logo

व्यवसायीहरुलाई धैर्य गर्न वाणिज्य संघको आग्रह



शरद रेग्मी : माघ ६ तुलसीपुर । दाङमा ५ दिन देखि जारी आन्दोलनमा व्यवसायीहरुको सहयोग र समर्थन हुँदै आएकोमा तुलसीपुर उद्योग वाणिज्य संघले अझै केही दिन धैर्य गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

आम दाङवासीहरुको सहभागिता र समर्थनमा जिल्लालाई प्रादेशिक राजधानी बनाउन दिन–रात लागि परेका व्यवसायीहरुलाई आन्दोलनले सार्थकता नपाउँदासम्म निरन्तर सहयोग गर्न संघका अध्यक्ष वीरबहादुर रावतले आग्रह गर्नुभयो ।

उहांले भन्नुभयो,“हरेक हिसावले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय व्यवसायीहरुलाई कदापी मान्य छैन ।’’

साथै अध्यक्ष रावतले व्यवसायीहरु वन्दको विरोधि भएता पनि यो सबैको चासो र दाङलाई अन्याय परेको हुँदा आन्दोलनमा सबै उद्योगी व्यवसायीहरुको समर्थन र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

शनिवार तुलसीपुर उद्योग वाणिज्य संघको नियमित बैठकमा अध्यक्ष रावतले व्यवसायीहरुलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गर्नु भएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष विमल रिजाल, पूर्व अध्यक्ष गणेश प्रेम श्रेष्ठ, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले यो आन्दोलनमा घर–घरवाट सक्रिय सहभागिता जनाउन समेत आम दाङवासीहरुमा आग्रह गर्नुभयो ।

बैठकमा धन्यवाद संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्