Logo

‘प्रधानमन्त्रीमा ९९ प्रतिशत ओलीको संभावना, अध्यक्षमा सल्लाह गर्न बाँकी छ’ : झलनाथ खनाल (भिडियोसहित)



“पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ “
काठमाडौं, ६ माघ । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने खुलासा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ नेता खनालले यस्तो बताएका हुन् । उनले भने,‘अब बन्ने कार्यदलले आवश्यक गृहकार्य गरेर नीति र नेतृत्वको विषयमा टुँगोमा पुग्छौं।’ उनले भने,‘अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुई वटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउँछ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे । खनालले भने,‘पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा हुँदैन्, दुवैले आ–आफ्नो ढंगले काम गर्छन्, तर पार्टी एकता सरकार गठनभन्दा पहिलेपनि हुनसक्छ।’ अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्नेमा ९९ प्रतिशत संभावना रहेको उनको भनाई थियो ।

खनालले भने,‘अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ भन्ने विष्यामा सल्लाह गर्न बाँकी छ।’ नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्नबाट पछि नहट्ने समेत स्पष्ट पारे । उनले भने,‘मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यो भूमिका दृढतापूर्वक पालना गर्न तयार छु।’ एकतापछि पनि आफू अहिले जुन धरातलमा रहेको हो त्यही धरातलमा हुने खनालले विश्वास दिलाए ।

राष्ट्रपतिमा तपाईको नाम चर्चामा छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘को राष्ट्रपति बन्छ भन्ने कुरा सबै कुरा ध्यानमा राखेर निर्णय हुन्छ, राष्ट्रमा पुर्याएको योगदानको आधारमा उचित निर्णय हुन्छ, यसबारेमा उपर्युक्त समयमा उपर्युक्त निर्णय गरिनेछ।’

नेता खनालले प्रदेश प्रमुख नियुक्तीलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको स्पष्ट पारे । उनले भने,‘सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्तीलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएको छैन, प्रक्रिया अघि बढ्छ।’ यद्धपी उनले आगामी सरकारले प्रदेश प्रमुखहरुको काम÷कारबाही राम्रो ढंगले अघि बढेको नपाए त्यसमा विचार पुर्याउन सक्ने तर्क गरे ।

त्यस्तै उनले प्रदेशको अस्थायी राजधानीको बारेमा पनि टिप्पणी गर्दै भने,‘प्रदेश सभाले निर्णय गर्छ, अस्थायी राजधानीको बारेमा अहिले आन्दोलन भयो भनेर संघीयतासँग जोडेर हेर्नुहुँदैन्, राजधानी तोक्ने काम प्रदेश सभाको हो।’

खनालले नयाँ संविधान जारी भएपछिको पहिलो महानिर्वाचन सम्पन्न भएर मुलुक नयाँ चरणमा प्रवेश गरेको बताउँदै भने,‘हामीले क्रान्ति, संघर्षको युगलाई पार गरेका छौं, अब मुलुकमा स्थायित्व, विकास निर्माण, समृद्धिको यात्रातर्फ अघि बढाउनुपर्छ, यो निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता हाँसिल गरेको छ, झण्डै हामी दुई तिहाई नजिक पुगेका छौं।’ उनले वाम गठबन्धनको विजयीलाई संविधानको पनि विजय भएको टिप्पणी गरे ।

उनले फागुणको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाए । उनले भने,‘वाम गठबन्धनमा पनि एमालेको नेतृत्वको सरकार बन्ने कुरामा विवाद छैन, सरकार बन्छ।’

अब बन्ने सरकारले महत्वपूर्ण कार्यभार सम्हाल्नुपर्ने बताउँदै खनालले भने,‘अब बन्ने सरकारले महत्वपूर्ण पाँच वटा कार्यभार पूरा गर्नुपर्छ, त्यो भनेको लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक बनाउने, वामपन्थीहरु लोकतान्त्रिक हुँदैनन् भन्ने आरोप तथा मिथ्याहरुलाई खण्डन गर्नुपर्छ, दोस्रो भनेको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाभिमानलाई प्रर्वद्धन गर्ने, हामी कसैको पनि विरुद्धमा छैनौं, तेस्रो भनेको सामाजिक–आर्थिक रुपान्तरण गर्ने, यसलाई तिव्रता प्रदान गर्ने हो, देशको पूर्वाधार विकास, कृषि आधनुकिरण, जलस्रोतको विकास गर्ने, जलविद्युत उत्पान गर्ने हजारौं/हजारौं मेगावाट विद्युत उत्पादन गर्ने, पर्यटनको विकास गर्ने, त्यस्तै चौथो भनेको सामाजिक, साँस्कृतिक विविधतालाई कायम गर्ने, र पाँचौ भनेको अन्र्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने, दुवै छिमेकी देशहरु भनेको ट्रान्जिट कन्ट्री हुन, पारवाहन सुविधा दुवै देशसँग लिनुपर्छ।’ उनले नेपालको विदेश नीति सन्तुलित हुनुपर्ने आगामी कार्यभार रहेको सुनाए ।

त्यस्तै उनले नेपालमा पाँच वटा चिजहरुको उन्मुलन हुनुपर्ने भन्दै फेहरिस्त समेत सुनाए । उनका अनुसार बेरोजगार उन्मुलन गर्ने, गरिबी उन्मुलन गर्ने, अविकास उन्मुलन गर्ने, रोगव्याधी उन्मुलन गर्ने, निरक्षरता उन्मुलन गर्ने रहेका छन् । खनालले समृद्ध नेपाल र सुखी नेपाली गरि दुई वटा कुरा अब मुलुकले हाँसिल गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल–भारत सम्बन्ध पनि सुमधुर हुनुपर्नेमा जोड दिँदै १९५० को असमान सन्धि खारेज गरेर नयाँ सन्धि जारी गर्नुपर्ने बताए । उनले भने,‘भर्खर–भर्खर शीतयुद्ध भएको बेला भएको नेपाल–भारतको १९५० को सन्धि, अहिले त्यो बेलाको विश्व परिस्थिति पनि बदलिएको छ, भारत पनि बदलिएको छ, र नेपालपनि बदलिएको छ।’ उनले दुई वटा राष्ट्रका आवश्यकत्ता अनुसार १९५० को सन्धिलाई ‘रिभ्यु’ गर्नुपर्नेमा जोड दिए । उनले अब नयाँ सन्धि निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेता खनाललाई प्रतिनिधि सभाको निर्वाचनमा ईलाम क्षेत्र नम्बर १ बाट विजयी भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका थिए । धमलाले खनाललाई अबको राष्ट्रपति बन्न समेत शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्